संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनको संयुक्त सरकारमा सहभागी हुन संविधान संशोधन पहिलो शर्त भएको बताउनुभएको छ ।
एभरेष्ट दैनिकसँग कुराकानी गर्दै यादवले भन्नुभयो, ‘मन्त्री मात्रै बन्न सरकारमा जाँदैनौं हामी । एमालेले संविधानमा भएका त्रुटि सच्याउन तयार हुनुपर्छ ।’ सरकारमा जानेबारे एमालेसँग हालसम्म कुनै कुराकानी नभएको यादवले बताउनुभयो । उहाँका अनुसार मोटो रुपमा संविधानमा भएका त्रुटि संशोधन गर्न एमाले सहमत भए सरकारमा जाने विकल्प खुला छ ।
संविधानमा मधेशी, जनजाति, महिला र उत्पादित समुदायका अधिकार सम्बोधन गर्न संविधान संशोधन गर्नु आवश्यक रहेको यादवले बताउनुभयो । ‘सरकारमा जानेबारे न एमालेसँग छलफल भएको छ, न पार्टीभित्र आन्तरिक छलफल नै,’ उहाँले भन्नुभयो ।
माओवादी केन्द्रलाई वेवास्ता गर्दै एमालेले फोरमसँग मिलेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेको हल्ला फैलाइएको बेला यादवले सरकारमा जानेबारे छलफल नै नभएको बताउनुभएको हो ।
वाम गठबन्धनको एक घटक माओवादी केन्द्रले यसअघि नै संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गरिसकेको थियो । एमालेले संविधान संशोधनमा अवरोध गरिरहेको थियो । फोरमको संविधान संशोधनको शर्तबारे एमालेले अझैं आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।










