दुई साता लामो भारत भ्रमण सकेर हिजो मात्रै नेपाल फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक व्यवस्थामाथि नै प्रश्न उठाएका छन् । निर्वाचन गर्नु मात्र प्रजातन्त्र नभएको भन्दै उनले २०६३ बैशाख ११ पछि भएको राजनीतिक परिवर्तनको समीक्षा गर्ने बेला आएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसर शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्या समाधान खोज्ने क्रममा भएका सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्रथमिकता नपाएको गुनासो गरेका छन् ।
११ वैशाख २०६३ मा भएको राजनीतिक परिर्वतन पछिको दशकमा देश र जनताको हितप्रति संवेदशीलता एवं जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रित सोचको पासमा देशको राजनीति अल्झिएको छ ? समीक्षा गर्नुपर्ने उनले बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले भनेका छन् ‘सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रको रुपमा जनताले आत्मसाथ गरिदिनुपर्ने हो कि होइन ? कानुनी राज एवं सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोर्नुपर्ने हो ?’
उनले सबै नेपालीको भावना समेट्ने र देशको राष्ट्रियता एवं राष्ट्रिय एकता समृद्ध बनाउने साधनको रुपमा प्रजातन्त्र प्रयुक्त हुने अवस्था बन्न सकोस् भनेका छन् । -टिभी अन्नपूर्ण बाट साभार










