काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गरेका छन्। उनले प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले आज एक शुभकामना सन्देश जारी गर्दै देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
उनले दिवसका अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा भनिएको छ,‘देशमा हालै सम्पन्न संघ र प्रदेश निर्वाचनमा वाम गठबन्धनलाई अत्यधिक मतले विजयी गराउनुभएको प्रति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई धन्यवाद तथा बधाई दिन चाहन्छु।’
सन्देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक रुपान्तरणसहित आम जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ नयाँ सरकार गठन भएको जनाइएको छ।
उनले वर्तमान सरकार देशमा विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहेका छन्।
वर्तमान सरकार आर्थिक चुनौतीको सहज व्यवस्थापन गर्दै संघीयताको सफल कार्यान्वयन गर्दै आगाडि बढ्ने र त्यसका लागि वित्तीय अनुशासन र मितव्ययिता कायम गर्दै जनताको चाहनाअनुसारका विकास कार्यक्रम तीव्रताका साथ सञ्चालन गर्न सबैको सहयोग रहने विश्वास लिएको सन्देशमा उल्लेख छ। रासस










