प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय हितको रक्षा, कानुनी शासन, सुशासन र विकास आफ्नो सरकारको कार्यदिशा भएको वताउनु भएको छ । ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा टुंडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुखी नेपाली र समृद्ध नेपालको अभियान सुरु भएको पनि वताउनु भयो ।

‘संघीयताको ढाँचामा ७ प्रदेश, ७५३ स्थानीय तह सहितको शासकीय पद्धतिमा ढाल्ने कार्य अगाडी बढेको छ । तीनवटै तहका सरकारहरुले आ–आफ्ना अधिकारका सीमा र सम्वन्धमा रही समन्वयात्मक तवरबाट शासन सञ्चालन गर्ने नयाँ अध्यायको सुरुवात भै सकेको छ’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘सवै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकास मार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको छ ।’

प्रधानमन्त्री ओलीले जनतामा निहित सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवं हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सुशासन, स्थिरता, विकास र समृद्धि आफ्नो सरकारको कार्यदिशा भएको वताउनु भयो । ‘हाम्रो शासकीय मूल्य मान्यता, संविधानले अंगिकार गरेको दर्शनलाई जनताले अनुभूत गर्ने गरी रुपान्तरण एवं बढोत्तरी गर्ने समय आएको छ’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘मुलुकको विकास, प्रगति र समृद्धिको लागि आ–आफ्नो कर्म क्षेत्रबाट उठेर देश विकासमा लाग्न स्वदेश तथा विदेशमा रहने सवै नेपाली दाजुभाई तथा दिदी वहिनीहरुलाई म हार्दिक आव्हान गर्दछु ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निरंकुश व्यवस्थालाई परास्त गर्दै नेपाल आजको दिनमा आइपुगेको वताउँदै ओलीले युगसापेक्ष विकासबाट नेपी मुहारमा खुसीयाली ल्याउन चाहेको पनि वताउनुभयो । ‘हामीले प्राप्त गरेको समय सापेक्ष संविधानको कार्यान्वयन निरपेक्ष विकासबाट सम्भव छैन । अव जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु हुने उद्घोष पनि म यसै समारोहबाट गर्न चाहन्छु’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसका लागि हाम्रा शुभ चिन्तक, सहयात्री सम्पूर्ण स्वदेशी एवं विदेशी मित्रहरुलाई पनि सहभागिता र सहयोगको हार्दिक आव्हान गर्दछु ।’