नवलपरासी, ७ फागुन– नवलपसारीको पाल्हीनन्दन गाँउपालिका–१ महेशपुर भन्सारमा सोमवार विहान गोली चलेको छ ।

प्रहरी र स्थानीयबासीबीच झडप भएपछि प्रहरीले ४ राउण्ड अश्रुग्यासका साथै १ राउण्ड गोली प्रहार गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले महेशपुर भन्सारबाट आयात गरिएको कपडा भैरहवा भन्सार पुर्याउन गाडीमा लोड गर्न थालेपछि स्थानीयले अवरोध गरेका थिए ।

गत माघ २८ गते प्रहरीले सीमानाकाबाट अवैध रुपमा आयात गरिएको ५१ पोका कपडा बरामद गरेको थियो । बरामद गरिएको कपडा भैरहवा भन्सार कार्यालयमा बुझाउन लैजान खोज्दा सोमवार स्थानीयले अवरोध गरेका हुन् ।

स्थानीयसँगै व्यापारीहरुको समूहले प्रहरीले कपडा लोड गरिरहेको गाडीमा ढुङ्गा–मुडा प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास र गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।