हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहेर आतंक मच्चाउँदै आएक मनोज पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले नियन्त्रणमा लिएको छ । भारतको तटीय राज्य गोवाबाट पुनलाई सिआइबीले नियन्त्रणमा लिएको हो ।
फागुन ६ गते गोवाबाट प्रहरीले नियन्त्रणमा परेका पुनलाई नेपाल ल्याइँदैछ । सीआइबीले यस बारेमा औपचारिक रुपमा जानकारी दिएको छैन । सीआइबीका एसएसपी घनश्याम अर्यालले पुनलाई नियन्त्रणमा लिन सफल भएको र केहि घन्टा भित्र आधिकारिकता पुष्टि हुने वताए । नम्वर नदेखिने फोनबाट पुनका सहयोगी बताउनेहरुले फोन गरी पुनलाई सादा पोशाकका प्रहरीले ६ गते आइतवार गोवाबाट नियन्त्रणमा लिएको जानकारी दिएका थिए ।
बुटवलका एमाले नेता वसन्त पौडेल र दुर्गा तिवारी र निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीको एक विशेष टोली नै खटाएको थियो । प्रहरीका एक सईको कमाण्डमा विशेष टोली पुनलाई नियन्त्रणमा लिन उसलाई भेटिने सम्भावित ठाउँहरुको पहिचान गर्दै करिव ३ महिनादेखि भारतमा रहेको थियो ।
बुटवलमा यूवा संघका उपाध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको पुन समुहले काठमाडौंमा समिरमान सिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा लिएको थियो । एक पछि अर्को गर्दै व्यक्ति हत्यामा संलग्न रहेपछि नेपाल प्रहरीको लागि पुन समुह टाउको दुखाइ हुँदै आएको थियो ।
आपराधिक काममा संलग्न रहि फरौती धन्दामा संलग्न पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीलाई एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुनु अगाडि नै भन्दै आएका थिए । पुनले पछिल्ला दिनमा यूवा संघ र एमालेका नेता कार्यकर्ताहरुलाई धम्क्याउन थालेपछि यो बिषय प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पनि पुगेको थियो । एमालेका स्थानीय नेता सिद्धिचरण भट्टराई लगायतलाई पुनको समुहले धम्कयाउँदै आएको छ ।
पुनकै समुहले करिव दुई महिना अगाडि काठ व्यवसायी तथा यूवा संघका नेता वसन्त पौडेल बल्लुलाई हत्या गरेको थियो भने यूवा संघकै दुर्गा तिवारीलाई ०७३ पुस १४ गते हत्या गरेको थियो ।
-चक्रपथ डट कम बाट









