माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको हप्ता दश दिनमै पार्टीको नाम औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भइ वैधानिकता पाउने बताएका छन् ।
सोमबार मध्यराति एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको थियो ।
मंगलबार दिउँसो गृह जिल्ला चितवन आएका प्रचण्डले भने, ‘अन्तरिम राजनैतिक प्रतिवेदन र विधान र संगठन मिलाउनका लागि दुई छुट्टै कार्यदल बनाएको र उक्त कार्यदलले प्रतिवेदन बुझाएपछि औपचारिकता दिने छौं ।’
निर्वाचन आयोगमा बुझाइने दल दर्ताको पत्रमा दुवै अध्यक्ष (ओली र प्रचण्ड) को हस्ताक्षर रहने उनले बताए ।
नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गरे लगत्तै प्रचण्डले देश अब स्थिायित्व र समृद्धिको दिशामा अघि बढेको समेत बताए ।
०१९ सालदेखि जुट्न नसकेको कम्युनिस्ट हाल एक हुनु विश्वकै लागि पनि पाठ भएको उनको भनाइ छ । अब यी दुई पार्टीले अन्तरिम राजनीतिक प्रतिवेदन र अन्तरिम विधान तयार पारी एकीकृत पार्टी सञ्चालन गर्ने सहमति भएको प्रचण्डले बताए ।
एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा गर्ने र वैठकको अध्यक्षता आलोपालो गर्ने सहमति भएको प्रचण्डको भनाइ छ । प्रचण्डले आगामी २ वर्ष भित्र एकताको महाधिवेशन हुने बताए ।
उक्त महाधिवेशनपछि नेता कार्यकर्ताको भावनाअनुसार अघि बढ्ने हुँदा अहिल्यै नै प्रधानमन्त्रीको आलोपालोको विषयले खास महत्व नराख्ने उनले बताए । महाधिवेशन नभएसम्म ओली नै प्रधानमन्त्री रहनेसमेत प्रचण्डको भनाइ छ ।










