विष्णुप्रसाद पोखरेल दमक । झापाको दमक स्थित स्वास्थ्य चौकीको स्तरउन्नती गरेर बनाइएको दमक अस्पतालमा आइतवारदेखि ‘पोष्टमार्टम’ सेवा र डिजिटल एक्स रे सेवा शुरु गरिएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उप प्रमुख गिता अधिकारीले औपचारीक रुपमा सेवा शुचारु भएको एक कार्यक्रमबीच जानकारी गराउनु भएको हो ।

प्राकृतिक रुपमा भएका मृत्यु बाहेकका शंकाश्पद मृत्युमा शव परिक्षण हुने गर्छ । दमक र आसपासको क्षेत्र, इलामको चुलाचुली लगायतका क्षेत्रमा भएका यस प्रकारको मृत्युमा शव परिक्षणका लागि मोरंगको मंगलवारे वा दमकबाट ४५ किलोमिटर टाढा झापाको सदरमुकाम चन्द्रगढीस्थित मेची अञ्चल अस्पताल पुर्याउनु पर्ने बाध्यता रहेकोमा अब यो टरेको नगर प्रमुख ओलीले बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाले अस्पताल परिसरमा शव परिक्षण घर बनाउनका साथै आवश्यक उपकरण एवं औजार उपलब्ध गराएको छ । एक बर्षअघि देखि नै यो सेवा शुचारु गर्ने तयारी भएपनि बिभिन्न कारणले गर्दा हुन नसकेको अस्पताल सञ्चालक समितिका अध्यक्ष जिबन शिवाकोटीले बताउनु भयो । अस्पतालमा अब २४ सै घण्टा यो सेवा प्रदान गरिने समेत बताईएको छ ।

दूइ बर्ष अगाडि नै स्तरउन्नती गरेर जिल्ला अस्पतालको रुपमा बिकास गरिएको दमक अस्पताललाइ आवश्यक एक्स रे लगायतका उपकरणहरु यहाँ रहेका भुटानी शरणार्थीहरु सहयोग पुर्याउदै आएको आम्दा नेपाल मार्फत संयुक्त राष्ट्र संघीय उच्च आयोग यूएनएचसिआरले उपलब्ध गराएको छ । नगरपालिकाको आग्रहमा यसरी आवश्यक सामाग्रि उपलब्ध गराईएको बताइन्छ ।

अत्याधुनिक उपकरणहरु सहितको ल्याव, इमरजेन्सिका सामाग्रिहरु समेत यूएनएचसिआर उपलब्ध गराएको जनाईएको छ । आम्दा नेपालका परियोजना संयोजक सुमन नेपालका अनुसार १ करोड मूल्य बराबरका अस्पताललाइ आवश्यक धेरै प्रकारका उपकरणहरु यूएनएचसिआर मार्फत उपलब्ध गराईएको हो ।

नगरपालिका उपप्रमुख गिता अधिकारीका अनुसार आइतवार देखि एक्स रे सुबिधा समेत अस्पतालबाट सञ्चालनमा आएको छ । अहिले दमकमा भएका नीजि अस्पतालहरुको भन्दा गुणस्तरीय र आधूनिक एक्स–रे मेशिन अस्पतालले पाएको उहाँले जनाउनु भयो । कम्प्यूटर प्रणालीबाट रिर्पोट दिन सकिने ३ सय एमए को एमएको एक्स रे मेशिनबाट सेवा शुरु भएको र यस क्षेत्रका बिरामीहरुले सस्तोमा उपचार पाउने अधिकारीको भनाइ छ ।

नगरपालिकाले दूइसाता भित्रमा अस्पतालमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याउने समेत तयारी गरेको छ । उपप्रमुख अधिकारीका अनुसार आवश्यक स्वास्थ्यकर्मीहरुको पदपूर्ति गर्ने काम अन्तिम चरणमा पुगेको छ । अस्पतालले इमरजेन्सि सेवा र बर्थिङ सेन्टर दूइसाता भित्रमा सञ्चालनमा ल्याउने अधिकारीले बताउनु भयो ।