काँकरभिट्टा । झापाको मेचीनगर ७ स्थित प्यारीभिट्टा बसपार्कमा राखेको हक्स बम सेनाले निष्क्रिय पारिदिएको छ ।
मङ्गलबार बिहान करिव ४ः३० बजे मोटरसाइकलमा आएका केही मानिसले बम राखेर भागेका स्थानीयबासीको भनाई छ ।
घटनास्थलबाट कम्युनिष्ट पार्टीको हँसिया हथौडा अङ्कित रातो झन्डा फेला पारिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । झण्डा देखेपछि सो बम नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राखेको प्रहरीको अनुमान छ ।
चारआलीस्थित नेपाली सेनाको कालीबहादुर गणबाट खटिएको बम डिष्पोजल टोलीले बम राखिएको करिब ५ घण्टापछि निष्क्रिय पारेको हो ।
घटनास्थलमा बेवारिसे अवस्थामा भेटिएको मे ७ प ७३६५ नम्बरको सुजुकी जिक्सर र सोही नम्बर प्लेटको भित्र मे ६ प ७३६६ नम्बर लेखिएको मोटरसाइकल इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बरामद गरेको छ ।
बम फेला परेको सूचना पाएलगत्तै निष्क्रिय नहुञ्जेल प्रहरीले घटनास्थल आसपासका क्षेत्रमा कडा सुरक्षा प्रदान गरेको थियो । बम विष्फोट हुन नपाएकाले कुनै क्षति नभए पनि स्थानीय बासिन्दा सन्त्रासमा रहनु परेको छ ।










