काठमाण्डौं, ९ फागुन : धेरै पटकको ‘वान टु वान’ वार्तापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणको सहमति गर्दै पार्टीको नयाँ नाम जुराए पनि बल्ल जुरेको नयाँ नाम नपाउने निश्चित जस्तो भएको छ ।

यता नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमाले र माओवादी केन्द्रबीच एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने भनिएकोमा आश्चर्य प्रकट गरेका छन् । उनले आफ्नो पार्टीको बारेमा विस्तृत जानकारी दिएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेको बताएका छन् । तर, अहिले आएर एमाले–माओवादीले पनि एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नै राख्ने सहमति गरेको आफूले पनि सुनेको बताएका छन्  ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने, ‘उनीहरूले पनि दल दर्ता गर्ने त निर्वाचन आयोगमै होला । सडकमा दर्ता गरेर त दल बन्दैन होला । सत्ताको दबाबमा आयोगले दुईवटा पार्टीलाई एउटै नाम दिन्छ भन्ने मलाई लाग्दैन । त्यसो भयो भने हामी जाने अदालतमै हो ।’ उनले थपे, ‘हाम्रो र उनीहरूको पार्टीको विचार नै मिल्दैन । त्यसैले एकताको कुनै सम्भावना नै छैन । तर, यतिखेर हामीलाई बडो अचम्म लागेको छ । जो विचारमा कम्युनिष्ट नै छैन, उसलाई किन कम्युनिष्ट पार्टी नाम चाहिएको हो ? तर, उनीहरूलाई चाहियो भन्दैमा हामीले दिने कुरै छैन ।’