अमेरिकाले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ। अमेरिकन राजदुत अलाइना बी. टेपलेट्जले कान्तिपुर दैनिकमा 'भ्रष्टाचारविरुद्ध नागरिक शक्ति' शिर्षकको लेखमा लोडसेडिङको अन्त्य गरी भ्रष्टाचार विरुद्धको सङ्घर्षमा नेपालले सफलता हात पारेको उदाहरण दिंदै घिसिङको प्रशंसा गरेकी हुन्।
कार्यकारी निर्देशकमा नियुक्त भएपछि घिसिङले लोडसेडिङको अन्त्य गरेको उदाहरण प्रस्तुत गर्दै राजदुत टेपलेट्जले भ्रष्टाचार विरुद्धको सङ्घर्षमा नेपालले सफलता हात पारिसकेको बताएकी छिन। घिसिङले प्राधिकरणभित्र सफाइ अभियान थालेपछि पाएको सफलतालाई प्रेरणा मान्दै पारदर्शितातर्फ महत्वपूर्ण कदम चाल्न अझै धेरै मानिस तत्पर हुनसक्ने उनले बताएकी छिन।
राजदुत टेपलेट्ज लेख्छिन, 'सफलताको एउटा उदाहरण हो, नेपालको विद्युत आपूर्ति । लोडसेडिङबाट नेपालको अर्थतन्त्रमा ठूलो क्षति भयो र नेपालीहरू अँध्यारोमा रहन बाध्य भए । थुप्रै खोजमूलक पत्रकारहरूको कामबाट पछि विद्युतको अभाव कृत्रिम भएको र केही व्यक्तिको समृद्धिका लागि त्यसो गरिएको पत्ता लागेबाट लोडसेडिङ अनावश्यक रहेछ भन्ने पुष्टि भयो '
उनले लेखेकी छिन, 'लोडसेडिङ अन्त्य भए लगत्तै नेपाली टाइम्स पत्रिकाले लेखेको थियो, ‘नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणभित्र सफाइ अभियान थालेपछि नै इन्जिनियर तथा सचेतकहरूलाई खुलेर बोल्ने साहस आयो र केही व्यक्तिलाई मात्र समृद्ध बनाउन राष्ट्रिय अर्थतन्त्रलाई धराशायी बनाउँदै अनि लाखौं नेपालीलाई एक दशकसम्म कष्टपूर्ण जीवन बिताउन बाध्य पार्दै सञ्चालित हुने विकृत व्यवस्थाबारे उनीहरूले मुख खोले'
गत वर्षको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएपछि घिसिङले लोडसेडिङको अन्त्य गरेका थिए । उनले प्राधिकरणको वित्तीय र प्रशासनिक सुधार गर्दै ‘उज्यालो नेपाल अभियान’ चलाइरहेका छन्। -बिजपाटि बाट










