रामबहादुर थापा बादल उपप्रधानमन्त्री बन्ने सहमति माओवादी केन्द्रले गरेको छ । यद्यपि उपप्रधानमन्त्री सहित कुन मन्त्रालय पाउने भन्ने टुंगो लाग्न बाँकी छ । राष्ट्रिय सभामा निर्वाचित थापालाई राष्ट्रिय सभाको अध्यक्षका रुपमा हेरिएको थियो । एमाले पनि त्यसमा करिब करिब सहमतिमै देखिएको थियो ,। तर, बादलले भने सरकारमा जाने इच्छा देखाएका छन् । उनले सरकारमा पार्टीको नेतृत्व गर्ने लगभग निश्चित जस्तै भएको माओवादीका एक नेताले बताए ।

बादल सिनियर नेता भएकाले उनकै नेतृत्वमा सरकारमा जान अरु नेता सहमत भएका छन् । उनी उपप्रधानमन्त्री हुनेछन् । तर, मन्त्रालय भने टुंगिएको छैन ।बादलले गृहमन्त्री दाबी गरेका छन् । बादलसँगै पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्व गृहमन्त्री जनार्दन शर्माको पनि दाबी छ । तीन नेताले गृहमन्त्रीको दाबी गरेपछि माओवादीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउन कठिन भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रचण्ड नेतृत्वको पहिलो सरकारमा बादल रक्षामन्त्री थिए । बादलकै पालामा कटवाल प्रकरण भएको थियो, जसका कारण प्रचण्डले राजीनामा दिनुपर्‍यो । स्रोतका अनुसार बादललाई गृह दिने सम्भावना कम छ । बादललाई उपप्रधानमन्त्री दिएर गृहबाहेक अर्कै मन्त्रालय दिने र गृहमन्त्रीमा काम गर्न सक्ने नेतालाई लैजाने विकल्पका बारेमा पनि छलफल भइरहेको माओवादी नेता बताउँछन् । माओवादीले मन्त्रीको टुंगो लगाएपछि मन्त्रिपरिषद बिस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ । -टिभी अन्नपूर्ण बाट