काठमाण्डौं । वाम गठबन्धनका प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा नेकपा माओवादी केन्द्रबाट प्रभावशाली नेता रामबहादुर थापा बादलले नेतृत्व गर्ने निकै सम्भावना छ । ओली नेतृत्वको सरकारमा बादल उपप्रधानमन्त्री सहित गृहमन्त्री हुने छन् । यसअघि अर्थमन्त्री बनिसकेका अर्का नेता वर्षमान पुनले यस पटक गृह मन्त्रालयमा दाबी गरेका छन् ।
अर्का युवा नेता जनार्दन शर्मा पनि गृहमन्त्रीका दाबेदार हुन् । निकै राम्रोसँग उर्जा मन्त्रालय चलाएर प्रशंसाको पात्र बनेका शर्मा शक्तिशाली मन्त्री भने पक्का बन्नेछन् । माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्वन्ध बनाएका शर्मा प्रदेश ६ का शक्तिशाली नेता समेत हुन् ।
प्रदेश २ बाट मातृका यादव र प्रदेश १ बाट हिमाल किरातीले मन्त्रीमा दावी गरेका छन् । यसअघि सञ्चारमन्त्री समेत बनिसकेका राम कार्कीले पनि मन्त्रीमा दावी गरेपछि प्रदेश १ बाट को मन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन । अमनलाल मोदी पनि मन्त्रीको लिस्टभित्रै छन् । प्रचण्डले निकै माया गर्ने युवा नेताभित्र मोदी पर्छन् ।
प्रदेश ७ बाट लेखराज भट्टले पनि मन्त्रीमा दावी गरेका छन् । उनी प्रदेश ७ का निर्विकल्प दाबेदार हुन् । यसैगरी प्रदेश ५ बाट वर्षमान पुन मन्त्री बन्ने पक्कापक्की जस्तै छ ।
प्रदेश ३ बाट पम्फा भुषाल र शशि श्रेष्ठले मन्त्रीको दावी गरेका छन् । दुवै शक्तिशाली महिला नेतृ पनि भएकाले दुवै मन्त्री बन्ने सम्भावना रहेको माओवादी स्रोतले बतायो । मोहन वैद्य नेतृत्वको पार्टी छाडेर माओवादी केन्द्रमा आएकी पम्फा हाल माओवादीको प्रवक्ता छिन् ।
श्रेष्ठले प्रखर महिला नेतृत्वको समेत छबि बनाएकी छिन् । प्रचण्डका विश्वास पात्र हरिबोल पनि मन्त्री बन्ने निकै संभावना छ । सिपी गजुरेललाई छोडेर प्रचण्डलाई साथ दिएकाले पनि गजुरेल प्रचण्डका खास विश्वास पात्र हुन् ।
प्रदेश ४ बाट देव गुरुङ र देवेन्द्र पौडेल दुवै मन्त्रीका दावेदार छन् । देवेन्द्र पौडेल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति परित्याग गरेर माओवादीमा आएका थिए । त्यसको सन्तुलन मिलाउन पनि पौडेललाई मन्त्री बनाउनुपर्ने मत माओवादीका केही नेताहरुको छ । उता गुरुङ पनि बादल समूहबाट आएकाले स्वाभाविक दाबेदार हुन् ।










