२०७३-०८-२४ -दमक-ताजपुरिया कल्याण परिषद्ले स्थानीय तह पुर्नसंरचना गर्दा ताजपुरिया समुदायको बसोबास रहेको क्षेत्रलाई ताजपुरिया संरक्षित क्षेत्र निर्धारण गर्न माग गरेको छ ।
परिषदको केन्द्रीय समितिले आज आफ्नो २१ औँ स्थपना दिवसको अवसरमा झापाको दमकमा पत्रकार सम्मेलन गरी चार बुँदे माग अघि सारेको छ । परिषदले झापा र मोरङमा बसोबास गर्ने ताजपुरिया समुदायको बसोबास रहेको क्षेत्रमा संरक्षित क्षेत्र निर्धारण गर्नुपर्ने, ताजपुरियाको कलस्टर नटुक्र्याई एउटै संघीय प्रदेश संरचनामा राख्नुपर्ने, संविधानको धारा ४२ अनुसार राज्यका हरेक निकायमा समावेशी रुपमा सहभागी गराउनुपर्ने र निर्वाचन प्रणालीमा ताजपुरियाको पूर्ण समानुपातिक समावेशी हुनुपर्ने माग राखेको छ । पत्रकार सम्मेलनमा बोल्दै परिषदको केन्द्रीय महासचिव पर्शुराम ताजपुरियाले नयाँ संविधानले ताजपुरिया समुदायको हक अधिकार नसमेटेकोले आफुहरुको चार बुँदे माग कार्यान्वयनका लागि सरकारसँग माग गर्नुभयो । उहाँले राज्यको विभेदकारी नीतिका कारण ताजपुरिया समुदाय पछाडि परेको बताउनु भयो । झापा र मोरङमा ताजपुरिया जातिको कूल १९ हजार २ सय १७ जनसंख्या रहेको छ ।
ताजपुरिया समुदायको बसोबास झापामा १३ वटा गाविसमा र मोरङमा सात वटा गाविसमा रहेको छ । यसबैबीच नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय अध्यक्ष पदमा ताजपुरिया समुदायले नित्यानन्द ताजपुरियाको उम्मेद्वारी घोषणा गरेको छ । ताजपुरिया कल्याण परिषदको केन्द्रीय समितिले आज झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरी नित्यानन्दलाई महासंघको अध्यक्षमा उम्मेद्वार बनाउने निर्णय भएअनुसार उम्मेद्वारी घोषणा गरेको जनाएको छ । अल्पसंख्यक जातिको रुपमा रहेको ताजपुरिया समुदायले राज्यको निर्णायक तहमा आफ्ना कुराहरुलाई पु¥याउन नित्यानन्दलाई महासंघको अध्यक्ष पदमा उम्मेद्वार बनाउने निर्णय गरेको परिषदका केन्द्रीय महासचिव पर्शुराम ताजपुरियाले बताउनु भयो । नित्यानन्द ताजपुरिया कल्याण परिषदको पूर्व केन्द्रीय अध्यक्ष, महासंघको पूर्व अनुसन्धान सचिव थिए ।



