इटहरी ÷ तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ फागुन ११ गते उद्घाटन गरेको साबिकको हाँसपोसा–२ तरहराको बहुभाषिक प्राविमा मातृभाषामा पढाइ हुन छोडेको छ । त्यतिवेला नेपालीसहित विभिन्न चार वटा मातृभाषाको पढाइ हुने यो विद्यालयमा नेपाली र अंग्रेजी बाहेक अन्य भाषामा पढाइ हुन छोडेको छ ।

मातृभाषा थपिनुको साटो क्रमशः घट्दै गएपछि विद्यालयमा बहुभाषा पढाइ हुन छोडेको हो । विद्यालयका प्रधानाध्यापक टेकबहादुर सम्बाहाम्फेले भन्छन, ‘हामीले एकताका नेपालीसहित अन्य चार आदिवासी मातृभाषाका कक्षाहरू सञ्चालन गरेको यो विद्यालयमा आजकल ती कुनै पनि भाषाका पढाइ सञ्चालनमा छैनन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थापना कालमै नेपालकै पहिलो बहुभाषिक विद्यालय भनेर चिनिएको विद्यालयले सुुरुआती दिनबाटै लिम्बू भाषा कक्षा सुरु गरेको थियो । २०५२ सालबाट सुरु भएको लिम्बू भाषाको कक्षाको निरन्तरताको केही समय नबित्दै २०५४ बाट राईको चाम्लिङ भाषाको पढाइ समेत थपियो । चाम्लिङ भाषा कक्षा पढाइको केही समयपछि २०५५ बाट मगर र तामाङ भाषा कक्षाहरू पनि विद्यालयमा पढाइ हुन थाले । ऐच्छिक विषयका रूपमा राखिएका लिम्बू, चाम्लिङ, मगर र तामाङ विषयहरू सम्बन्धित समुदायका विद्यार्थीहरूले पढ्थे । तीभन्दा अलग समुदायका क्षेत्री, ब्राहृमण ,नेवार तथा अन्य भाषिक समुदायका विद्यार्थीहरूले भने आफ्नो रोजाइले ती भाषाहरू पढ्थे ।

एकसय हाराहारीका विद्यार्थीहरूबाट सुरु गरिएको विद्यायलमा २०५६ सालमा आइपुग्दा तीनसय बढी विद्यार्थीहरू पुगे । राम्रो खेलमैदान र प्रशस्त जग्गा भएको विद्यालयमा तरहराका स्थानीय मात्रै हैन इटहरी र आसपासबाट समेत विद्यार्थीहरू पढ्न आएको सम्झना सुनाउँछन् प्रधानाध्यापक संबाम्फे । ‘चारवटा भाषामध्ये एउटा रोजेर पढ्ने अवस्थामा धेरैले लिम्बू भाषा नै छानेर पढ्ने गर्थे’, लिम्बू भाषा शिक्षकको रूपमा विद्यालयका शुरुवाती दिनमा पढाउने टेकबहादुर सम्बाहाम्फे भन्छन, ‘अझ क्षेत्रीबाहुनहरूले त लिम्बू भाषा नै रोज्थे र लिम्बू केटाकेटी भन्दा राम्रोसँग लिपी लेख्न समेत सक्थे ।’ सजिलो लिपी र धेरै अक्षरका कारण लिम्बू भाषा सिक्न र सिकाउन सजिलो भएको सम्बाहाम्फे बताउँछन् । भन्छन्, ‘सिरीजंगा लिपी नै भएको राई जातिको चाम्लिङ भाषा पनि विद्यार्थीहरूले सहजै सिकेको पाएँ ।’

बहुभाषिक प्रावि तरहरालाई चाँहिने लिम्बू, चाम्लिङ, मगर र तामाङ भाषाका पाठ्यपुस्तकहरूको अभाव थिएन । नेपाल सरकारले कक्षा आठ सम्मका थुप्रै मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तकहरू बनाएकोले त्यसमा समस्या थिएन । समस्या तत्काललाई बिषय शिक्षकहरूको पनि थिएन । जसोतसो गरेर तत्कालिन गाविस, जातीय संस्थाहरू र दरबन्दिका शिक्षकको आर्थीक तथा नैतिक सहयोगले बहुभाषीक कक्षाहरू राम्रोसँग सञ्चालनमै थिए । अंग्रेजी भाषाका विभिन्न निजी बोर्डिङहरूको सञ्चालनसँगै बहुभाषिक कक्षाहरूमा प्रत्यक्ष असर पर्न थाल्यो । सम्बन्धित समुदायका अभिभावकले पनि आफ्ना बच्चाहरूलाइ निजी अंग्रेजी विद्यालयमा भर्ना गर्न थाले ।

२०५६ सालसम्म त निक्कै राम्रोसँग विद्यालय चलेको थियो र विद्यार्थीहरू पनि व्यापक बढेका थिए । तर, त्यसपछि क्रमशः विद्यालयमा विद्यार्थी संख्याहरू घट्न थाले र विद्यालयमा हाल ६० जना हाराहारमा मात्र विद्यार्थीहरू छन् । दुई स्थायी र तीन राहत दरबन्दी रहेको बहुभाषिक प्राविमा हाल साठीको संख्यामा विद्यार्थी भएको र आगामी शत्रमा पनि त्यो भन्दा धेरै विद्यार्थीको भर्ना नहुने देखिएको प्रधानाध्यापक संबाम्फे बताँउछन् ।