दमक/माओबादी केन्द्रका नेता गोपाल किरातीले पार्टी पुर्नगठन गरेर यसको नेतृत्व आफूले लिने बताएकाछन् । उनले प्रचण्ड लगायतका नेताहरु पार्टीबाट बाहिरिएको बताउदै अब यसको नेतृत्व आफूले गर्ने बताएकाहुन् ।
एमालेसंगको एकताको बिषयमा माओबादी केन्द्रले गरेको निर्णयप्रति आफूहरुको असन्तुष्टि रहेको जनाउदै चाँडै नै पार्टी पुर्नगठन गरेर अघि बढ्ने योजना रहेको उनले बताए । प्रदेश नं. १ का संयोजक समेत रहेका किरातीले भने–‘अब किरातीले नै नेतृत्व गर्नुपर्छ भन्ने सबैले भनेकाछन् र म नै नेतृत्व गर्छु ।’
माओबादीले गरेका आन्दोलनहरु र परिवर्तन संस्थागत भइनसकेको जनाउदै किरातीले आफूहरु संसदबादी बन्न नसक्ने बताए । पार्टी फूटाउने दोष आफूलाइ नलाग्ने बताउदै प्रचण्डले पार्टी फूटाएको उनले आरोप लगाए ।
उनले केहि दिन अघि फेसबुकमा लेखेका थिए-प्रेस विज्ञप्ति
महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरि माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनिद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन समुह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु । र, मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा एवं पहिचान मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरुमा नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरि अघि बढ्न बिशेष आव्हान गर्दछु ।
–गोपाल किराती, संयोजक, नेकपा माओवादी केन्द्र











