काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सरकार गठन गर्ने भनेपनि नहुने भएको छ । एमाले–माओवादीबीच मन्त्रालयको संख्या र भागवण्डा नमिल्दा सरकार गठनमा ढिलाई भएको हो ।
शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयको टुङ्गो लगाएपछि मात्र सरकार विस्तार हुने भएको छ । संविधानमा नै केन्द्र सरकार बढीमा २५ सदस्यीय मन्त्रीमण्डल हुने भन्ने उल्लेख भएकाले मन्त्रालयको संख्या घटाउनुपर्ने बाध्यता छ । संघीय प्रशासनिक पुनःसंरचना समितिले १८ मन्त्रालय बनाउन सिफारिस गरेको थियो भने काशिराज दाहाल नेतृत्वको समितिले १५ मन्त्रालय राख्न सिफारिस गरेको थियो ।
दाहालको सिफारिस अनुसार अघिल्लो सरकारले १५ मन्त्रालय रहने प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेको थियो । तर, एमाले र माओवादीभित्रबाट गरि कम्तिमा ३५ जनाले मन्त्री बन्न पाउनुपर्ने भन्दै लविङ गरिरहेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान बालुवाटारमा छलफल भएपनि मन्त्रालयको टुङ्गो लाग्न सकेन । थप परामर्श गरेर टुङ्गो पुग्न दुवै नेता सहमत भएका छन् ।
शुरुमा बिहीबार दिउँसो १२ बजे, त्यसपछि साँझ ५ बजे भनेर बोलाइएको एमाले स्थायी समिति बैठक पनि बस्दै नबसी शुक्रबार बिहान ९ बजेसम्मका लागि सरेको छ । मन्त्रालयको भागवण्डा नटुङ्गिएको, एमाले बैठक शुक्रबारलाई सरेका कारण बिहीबार सरकार विस्तार नहुने बालुवाटार स्रोतले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको एक हप्ता पूरा भएको छ । ओलीले गएको बिहीबार नेपालको ४१ औँ प्रधानमन्त्रीका रुपमा सिंहदबारको यात्रा तय गरेका थिए । प्रधानमन्त्रीमा नियुक्त भएसँगै एमालेबाट दुई जनालाई मन्त्री बनाएका ओलीले एक हप्तासम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
-दैनिक नेपाल बाट









