विराटनगर– प्रदेश १ को बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ।
नागरिकको सुरक्षालाई ध्यानमा राखेर 'जनतासँग प्रहरी' कार्यक्रम ल्याइएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए।
प्रत्येक घरदैलोमा प्रहरी टोली पुग्ने र आवश्यक जानकारीसहितको स्टिकर मूल ढोकामा टाँस्ने उनले बताए। 'स्टिकरमा नजिकैको प्रहरी पोस्टको नम्बर हुन्छ', उनले भने, 'कतै कुनै घटना घटेमा, दुर्घटना भएमा वा सुरक्षा चाहिएमा नागरिकले त्यो नम्बरमा सम्पर्क गरेर सहयोग लिन सक्छन्।' एक महिनाभित्रै स्टिकर टाँस्ने काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।
प्रहरीलाई सूचना दिएको सहरी क्षेत्रमा आधा घन्टा र ग्रामीण क्षेत्रमा एक घन्टाभित्रैमा सेवा पुर्याइने उनले बताए।
'जनतासँग मुख्यमन्त्री' कार्यक्रम भने मुख्यमन्त्रीसँग जनताको सीधा सम्पर्क रहन सकोस् भनेर ल्याइएको मुख्यमन्त्री राईले बताए।
'जनताले फोन गर्ने र समस्याको सुनुवाइ हुने प्रारम्भिक ढाँचा हो', उनले भने, 'यसको कार्यान्वयन भने गृहकार्य गरेर मात्रै सुरु गरिनेछ।' कार्यक्रम १५ दिनमा एक पटक सञ्चालन गरिने तयारी रहेको र छिटो गृहकार्य सकेर कार्यक्रम सुरु गर्ने तयारी रहेको उनले बताए।










