सवालनेपाल डेक्स दमक/पार्टी बिरुद्ध लागेको र एकताको बिषयमा दुश्प्रचार गरेपछि माओबादी केन्द्रले गोपाल किराती सहितका केहि नेतालाइ पार्टीबाट निष्कासित गरेको छ । हिजो बसेको बैठकले पार्टीका तीन नेता गोपाल किराती, विश्वभक्त दुलाल ९आहुती० र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीमा नरहेको सार्वजनिक घोषणा गर्ने निर्णय गरेको थियो ।
यस विषयमा किरातीले माओबादी केन्द्रको संयोजकको हैसियत राख्दै एक बिज्ञप्ति जारी गरेर प्रचण्डलाइ पार्टीबाट निष्काषित गरेको जनाएकाछन् । उनले दाहाल बिरुद्ध कडा शब्द प्रयोग गर्दै बिज्ञप्ति निकालेकाछन् ।
प्रेस विज्ञप्ति
सञ्चारमाध्यम अनुसार ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ । किनकी उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो । माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप समेत हो ।
अतः ‘जो चोर, उसैको ठूलो स्वर’ भने झैं मार्क्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो । यसैसाथ एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनि माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनिको प्रतिक्रान्तिकारी हर्कत विरुद्ध विरोधको झण्ड उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आव्हान गर्दछु । पार्टी पुनर्गठनमा सहयोग गर्न सबै देशवासीमा विशेष अपिल गर्दछु ।
गोपाल किराती संयोजक, नेकपा (माओवादी केन्द्र)










