काठमाडौं । वामगठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओली र पार्टी एकताको प्रक्रियामा गएका नेकपा माओवादी केन्द्रका अध्यक्षबीच शक्ति बाँडफाँडको अनौठो समझदारी देखिएको छ । सरकार बनेपछि प्रधानमन्त्री केपी ओलीले प्रारम्भिक रुपमा दुई मन्त्री समावेश गर्दै सरकार विस्तारको दौड सुरु गरिसकेका छन्। यो स्प्रीडलाई प्रचण्डले साथ दिएका छन् । धेरै कुरामा दुई नेताबीच एकमत देखिएको छ ।
स्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रालय र राजकीय पदको समेत बाँडफाँट भइसकेको छ। सोही अनुसार दुवै दलले मन्त्री छान्न पार्टीभित्र औपचारिक छलफल चलाइरहेका छन्। आकांक्षीहरु मन्त्री बन्न पार्टीका शीर्ष नेतासँग लबिङ गरिरहेका छन्। दुवै वाम दलका सांसदहरु मन्त्री पदको लबिङ गरिरहँदा गठबन्धनका प्रमुख नेताको भने राजकीय पदको बाँडफाँट भइसकेको स्रोत बताउँछ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयंले त्यसको खुलासा गर्दै सभामुख पद यसपटक समेत रोल्पाबाटै हुने बताएका छन्।
नेतृ ओनसरी घर्ती सभामुखमा दोहरिने चर्चा चलिरहँदा माओवादी केन्द्रले रोल्पाबाटै नयाँ अनुहारलाई सभामुखमा पठाउने तयारी गरेको हो। स्रोतका अनुसार नयाँ संसदमा सभामुखको पदमा माओवादी नेता कृष्णबहादुर महरा हुनेछन्। पटक–पटक प्रभावशाली मन्त्रालयसहित सरकारमा सहभागी भएका महरालाई माओवादी केन्द्रले यसपटक सभामुखमा पठाउने तयारी गरेको हो। माओवादी अध्यक्ष दाहालसमेत महरालाई सभामुख बनाउन तयार छन्। आफू सभामुख बन्ने तय भएपछि महराले नयाँ सरकारको गृह मन्त्रालयका लागि रोल्पाकै वर्षमान पुनलाई अगाडि सारेका छन्।
-जनबोलि डट कम बाट साभार









