नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मन्त्री चयनका लागि आन्तरिक बैठकमा व्यस्त बनेका छन् ।

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफू निकट नेता, मन्त्रीका आकांक्षीहरुसँग छलफलमा व्यस्त बनेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मन्त्री चयनका लागि आफू निकटका नेताहरुसँग छलफल गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा एमालेको स्थायी समितिकोको शुक्रबारको बैठकले पार्टी अध्यक्ष ओलीलाई मन्त्री चयनको अधिकार दिएको थियो । माओवादी केन्द्रले पनि पार्टी अध्यक्ष प्रचण्डलाई मन्त्री चयनको जिम्मा दिएको छ ।

एमाले र माओवादीबीच क्रमश १० र ७ मन्त्रालय लिने सहमति यसअघि नै भइसकेको छ । तर, दुवै दलमा आकांक्षी धेरै भएका कारण मन्त्रीको अन्तिम टुंगो लगाउन पार्टी अध्यक्षहरुलाई शकस परेको छ ।

सबै तयारी पूरा भएपछि आइतबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री ओलीका पूर्व राजनीतिक सल्लाहकार विष्णु रिमालले  बताए । तर माओवादी अध्यक्ष प्रचण्डले भने सोमबार तीनबजे मन्त्रीहरूको शपथ हुने बताएका छन् । शनिवार चितवन पुगेका उनले भोलि बेलुकासम्म नाम फाइनल हुने बताएका हुन् ।

१० मन्त्रालयमा एमालेबाट  तीन गुणा आकांक्षी

माओवादीसँगको सहमतिमा एमालेले १० मन्त्रालय पाउने प्रारम्भिक समझदारी भए पनि पदाधिकारीसहित तीन गुणा बढी आकांक्षी छन् ।  उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठसहित थुप्रै आकांक्षी देखिएका हुन् ।

माओवादीमा गृहका लागि हानथाप

गृह मन्त्रालय भागमा परेसँगै माओवादी भित्र कसले उक्त मन्त्रालय लिने भन्ने लफडा चलेको छ । अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र तथा प्रभावशाली नेताहरूले नै गृहमन्त्रीको दाबी नछाडेपछि दाहाल निर्णयमा पुग्न सकिरहेका छैनन्।

माओवादीबाट गृहमा रामबहादुर थापा बादल, वर्षमान पुनले दाबी प्रस्तुत गरेका छन्।

माओवादीले थापाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको भएपनि अन्य मन्त्रीको भने टुंगो लगाउन सकेको छैन ।

लोकान्तर बाट साभार