झापा । जंगली हात्तीको आक्रमणबाट झापाको बिर्तामोडमा शनिबार २ जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा बिर्तामोड नगरपालिका–७ स्थित मियावस्तीका ७० वर्षीय वृद्ध लसुने मिया र बिर्तामोड नगरपालिका–३ स्थित बिर्ताबजार का ६५ वर्षीय च्याङ्ग्रा राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
जंगली हात्तीको समूहले राजवंशीलाई छातीमा कुल्चिएको थियो भने मियालाई लछारपछार गरी खुट्टामा कुल्चिएको प्रहरीले जनाएको छ। दुवै जनाको घटनास्थलमै मृत्यु भएको र शव पनि त्यही रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। उनका अनुसार शनिबार बिहान ४÷५ जनाको समूह बनाएर बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा सामुदायिक वनमा दाउरा टिप्न र घाँस काट्न उनीहरु गएका थिए। जंगल गएका उनीहरुलाई जंगली हात्तीले दिउँसो १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमण परी २ जनाको मृत्यु भए पनि अन्य व्यक्तिहरु भाग्न सफल भएका थिए। सो वनमा अहिले पनि जंगली हात्ती रहेको प्रहरीले जनाएको छ। हालसम्म झापामा हात्तीको आक्रमणबाट ३५ जनाको ज्यान गइसकेको छ /










