काठमाडौं, फागुन १३
पछिल्लो समय प्रेमिल जोडीका मृत्युका खबर बढी नै आउन थालेका छन् । शनिबार बिहान पनि प्रेमीसँगै होटलमा सुतेकी प्रेमिकाको मृत्यु भएको छ । सुन्धाराको निकुद गेस्ट हाउसको १०४ नम्बर रुममा उदयपुरको कटारी–९ घर भई हाल हात्तीवन बस्दै आएकी २४ वर्षकी शर्मिला राउत मृत भेटिएकी हुन् । राउत आफ्नो प्रेमी सिन्धुलीको दुधौली–३ निवासी विशाल खड्कासँगै होटलमा बसेकी थिइन् ।
डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू राती अबेर मात्र होटलमा कोठा खोज्दै पुगेका थिए । शुक्रबार राती एक बजेसम्म कोटेश्वरमा बसेका उनीहरू राती घर जाने भनेर होटलबाट निस्के पनि रात निकै छिप्पिसकेकोले अर्को होटलको खोजीमा निस्केका थिए । उनीहरूसँग अरू दुई युवक पनि होटलमा पुगेका थिए । उनीहरू होटलको कोठा नम्बर ५०१ मा बसेका थिए ।
बिहान युवतीको मृत्यु भएको खबर सुनेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तीनै जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ भने, शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा खड्काले राती सँगै सुतेको भएपनि बिहान आफूले फ्यानमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा देखेको र बाँच्छिन् कि भनेर खोलेको बयान दिएका छन् ।
घटना शंकास्पद लागेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । पोस्टमार्टमको रिर्पोटपछि थप जानकारी सार्वजनिक गर्न सकिने जनसेवाका डिएसपी टेकुनन्द लिम्बुले बताए ।
जनता टाइम्स बाट









