जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नगरी संरचना निर्माण गरेका आधा दर्जनबढी होटल र अस्पताललाई जरिवाना र कारबाही गर्ने निर्णय गरेका छन्।

मन्त्रालयमा आइतबार बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट, द्वारिका होटल, सिद्धि होटल र काठमाडौं गेष्ट हाउसलाई इआइए नगरी सेवा विस्तार गरेकोमा एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको मन्त्री पण्डितले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कारबाहीमा पर्नेहरुले निर्धारित मापदण्ड पूरा नगरी संरचना बनाएका र अरु धेरैले पनि गरेका यस्तो गरेका रहेछन्, तिनलाई कानुनको परिधिमा ल्याउने संकेतस्वरूप यो कारबाही गरिएको मन्त्री पण्डितले बताए । मन्त्री पण्डितले भने, ‘यो शुरुवात मात्र हो कानुन नमान्ने सबैलाई कारबाहीको दायरामा ल्याउँछु।’

आजको बैठकले काठमाडौं मोडल अस्पताल, काठमाडौं अस्पताल त्रिपुरेश्वर, नेशनल हस्पिटल र अन्तर्राष्ट्रिय बाल अस्पताललाई पनि कारबाही गर्ने निर्णय गरेको छ।

त्यस्तै अरनिको सिमेन्ट उद्योग, काठमाडौं दुग्ध विकास आयोजनालाई पनि इआइए नगरेकोमा ५० हजार जरिवाना तिराउने निर्णय भएको मन्त्री पण्डितले जानकारी दिए।

व्यक्तिगत वा व्यावसायिक फाइदाका लागि मुलुकलाई हानी पुर्याउने कार्य गर्नेलाई छानविन गरी कारबाहीमा ल्याउने पनि मन्त्री पण्डितले प्रतिबद्धता जनाए ।