३ फागुनमा नयाँ प्रधानमन्त्रीको शपथ यति हतार सूचनामा भयो कि धेरै सांसद शीतल निवास पुग्नै सकेनन् । कोही जिल्लामा थिए, कोही बाटोमा । धन्न दुई जनामात्रै मन्त्री भए, अली बढी भएको भए त प्रधानमन्त्रीको शपथको रमिता हेर्न गएका पनि शपथको सूचीमा लामबद्ध हुनुपर्ने थियो ।

प्रधानमन्त्रीको शपथको सूचना हल्लैहल्लामा आयो। ‘तर, शीतल निवास जाने इच्छा खासै थिएन,’ मन्त्री भएको एक सातापछि पुल्चोकस्थित मन्त्री निवासमा जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले स्मरण गरे, ‘तीनकुने डेरामा पुग्न लागेकाबेला फोन बज्यो।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यो फोन कसेको थियो?

‘पहिलो माधव नेपालको,’ संवाददाताको प्रश्नमा उनले फेरि थपे, ‘लगत्तै अर्को फोन आयो केपी ओलीका सहयोगी राजेश बज्राचार्यको।’

४ बजेका लागि भनेर तोकिएको शपथ धन्न ढिला भयो। नत्र लालबाबु पहिलो चरणमा मन्त्री नहुने पक्काजस्तै थियो। शपथ ढिला भयो। ५ बजेपछि।

‘पिक आवर’मा बाटो उस्तै भीड। जामैजाम।

किरकिर। किरकिर। मोबाइल बजेको बज्यै।

लिफ्ट लिएको गाडीले शीतल निवास पुर्‍याउनेवित्तिकै गेटका सुरक्षाकर्मीले सिधै भित्र पुर्‍याइदिए। राष्ट्रिय गान बज्न सुरु भइहाल्यो।

माधव नेपाल र ओलीको सचिवालयका केहीलाई सोधे– कुन मन्त्रालय हो?

‘बिनाविभागीय’ ओलीका एक सहयोगीले यतिमात्रै भने।

राष्ट्रपतिले प्रधानमन्त्रीलाई शपथ खुवाइन्

राष्ट्रपति कार्यालयका सचिवले अरु मन्त्रीको शपथको कार्यक्रम सुनाए। ‘पोर्टफोलियो’सहित नाम वाचन भयो। सुरुमा लालबाबुको नाम थियो, उनीसँगै मन्त्रालयको फुर्को जोडियो– जनसंख्या तथा वातावरण।

‘हैट् कस्तो मन्त्रालय दे’को’ शपथमा उपस्थित धेरैले प्याच्च भन्दैथिए।

एमालेले पदाधिकारी वा सिनियर नेताभन्दा तलका नेतालाई प्राय: मन्त्रीमा दोहोर्‍याएको छैन। लालबाबुको अपेक्षा कसैले गरेका थिएनन्।

अर्की नेतृ थममाया थापा मगरसहित लालबाबुले शपथ लिए। शुभकामना आदानप्रदान भयो। लिफ्टको गाडी फिर्ता गरिदिए, मन्त्रालयबाट पुगेको गाडीमा मन्त्रालय आए। पदभार ग्रहण भयो। न स्वकीय सहयोगी थिए। मन्त्री एक्लै। सामान्य प्रशासन मन्त्री हुँदादेखिका स्वकीय सचिव ओसिम आलम राजधानीमा थिएनन्।

...

सामान्य प्रशासन मन्त्री हुँदा भन्दा अहिले बढी ब्यस्त छन् लालबाबु। ‘दैनिक ५–७ वटा अन्तर्वार्ता,’ दैनिकी सुनाए, ‘कार्यक्रम, निर्देशन, भेटघाट, सुझाव–सल्लाह।’ एक सातामा तीन दिन मन्त्रालय बसेँ। तीन दिनमै आफ्नो मन्त्रालयका समस्या खुट्याए। घरमा हुँदा मन्त्रालयको कार्यक्षेत्र, समस्या र समाधानका उपायबारे अध्ययन गरे।

सञ्चारमैत्री छवि बनाएका लालबाबुलाई मिडिया छल्न भने गाह्रो परेको छ। ‘फोन आफैं उठाउँछु,’ उनले भने, ‘बोलाएको ठाउँमा पुग्ने कोसिस हुन्छ, मिडियालाई सकेसम्म समय दिन्छु।’ चुनावपछि धेरै नबोल्नू भन्ने चिकित्सकको सल्लाह भएकाले भाषण, मन्तब्य र अन्तर्वार्ता घटाउने कोसिस छ उनको।

घरबाहिर खाना नखाने बानीले उनी बीचमा एक पटक घर पुग्छन्। त्यहीबेला सामान्य भेटघाट, ब्रिफिङ र अन्तर्वार्ता सकिहाल्छ। कान्तिपुर दैनिकबाट ।