१४ फागुन – सांसद एवं टीकापुर काण्डका फरार अभियुक्त रेशम चौधरीले प्रहरीको आँखा छलेर अदालतमा आत्मसमर्पण गरेका छन् । सोमबार बिहान उनी जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् ।
प्रहरीका अनुसार कैलाली प्रहरीसामु सहयोगीमार्फत् आत्मसमर्पणको प्रस्ताव गरिरहेको चौधरी अचानक प्रहरीकै आँखा छलेर अदालत पुगेका थिए ।
अदालतको मुख्य द्वारमा नै प्रहरी तैनाथ थियो । सर्वोच्चका न्यायधीश रणबहादुर बमको हत्यापछि अदालतको प्रवेशद्वारमा प्रहरीले सोधपुछ गरेर मात्र प्रवेश दिने गरेको छ ।
‘उहाँसँग आत्मसमर्पणबाहेक अरु कुनै विकल्प थिएन,’ कैलालीका एसपी विनोद घिमिरेले भने, ‘हामीसँग पनि कुरा भइरहेको थियो, अदालत जानुभएछ, हामी अदालतको आदेश पर्खिरहेका छौँ ।’चौधरीलाई त्यसयता सो घटनाका योजनाकारका रुपमा प्रहरीले फरार मान्दै आएको छ । तर गत निर्वाचनमा उनी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी भारी मतान्तरले विजयी भएका थिए । तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् ।
वारेसमार्फत विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्चसम्म पुगे पनि उनको माग अनुसार आदेश भएन ।
७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो । चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।










