काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडालाई अनुत्पादक क्षेत्रमा भइरहेको लगानी र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुन सुझाव दिएका छन् । डा. भट्टराईले खतिवडा अर्थमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत उत्पादन वृद्धि, कर असुली र नाफा वृद्धिमा ध्यान दिनसमेत अर्थमन्त्री खतिवडालाई सुझाएका छन् ।
पहिलो संविधानसभाको निर्वाचनपछि बनेको प्रचण्ड नेतृत्वको सरकारका सफल अर्थमन्त्रीका रुपमा लिइने भट्टराईले पैसा खेलाएर पैसा कमाउने, जग्गा किनेर जग्गा बेच्ने, पैसाले सत्ता किन्ने प्रवृत्ति राष्ट्रिय धन्दा बनेको भन्दै यसलाई रोक्न आग्रह गरेका छन् ।
भट्टराईले अर्थमन्त्री खतिवडालाई आर्थिक वृद्धि र भ्रष्टाचार नियन्त्रणका नारा बनाएर अघि बढ्न पनि सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ‘उत्पादन बढाऊ, नाफा कमाऊ, कर बुझाऊ’, ‘भ्रष्ट र कमिसनखोर, बस सदरखोर’ नारा तय गर्न सुझाएका छन् ।
त्यसैगरी भट्टराईले ‘दुई अंकको वृद्धिदर, दुई दशक निरन्तर’ को अर्को नारा पनि सुझाव दिएका छन् । यसलाई अनुसरण गरेर अघि बढेमा देश बन्ने दाबी डा. भट्टराईको छ ।
छलफल बाट साभार









