काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्नका लागि बनेको संगठन तथा विधान मस्यौदा कार्यदलको बैठक थप २ उपसमिति निर्माण गर्दै सम्पन्न भएको छ।

नेकपा एमाले को पार्टी मुख्यालय धुम्बाराहीमा मङ्गलबार बसेको कार्यदलको संयुक्त बैठकले विधान खाका तयार गर्न र जनवर्गीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव तयार गर्न दुई उपसमिति बनाएको बैठक स्रोतले बताएको छ। विधान खाका तयार गर्न वर्षमान पुन र वेदुराम भुसाललाई जिम्मा दिइएको छ भने जनवर्गाीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव गर्न गिरीराजमणि पोखरेल र गोकर्ण विष्टलाई दिइएको छ । दुबै उपसमितिले २२ गतेको कार्यदलको बैठकमा आफ्नो प्रतिवेदन बुझाउने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् । संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाएर फागुन २५ भित्र शीर्ष तहमा बुझाउनु पर्नेछ ।

यस्तै पार्टी एकता प्रतिवेदन कार्यदलले पनि आफ्नो कार्य गरिरहेको छ । उक्त कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।

-यस काठमान्डू डट कम बाट साभार