इटहरी | प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई अरु प्रदेशको तुलनामा समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जनस्वास्थ्य सरोकार ट्रष्ट नेपालले (फेक्ट) सुनसरीको इटहरी उपमहानगरपालिका–१८ मा निर्माण गर्न लागेको इटहरी अस्पतालको शिलान्यास गर्दै मन्त्री राईले प्रदेश १ लाई शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, जलस्रोत, कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर बनाउने उद्घोष गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा काठमाडौँ मोडल अस्पतालका चिकित्सक डा भरतकुमार प्रधानले अमेरिकी समाजसेवी जिम वेकरसहितको सहयोगमा अन्य क्षेत्रबाट समेत सहयोग जुटाएर रु २० करोडको लागतमा ओठ तालु फाटेका, फिष्टुला, आङ खस्ने, आगोले पोलेर खुम्चिएका छाला वा जोखिमपूर्ण पीडामा रहेका घाइतेलाई विशेष सहुलियत दरमा चिकित्सकीय सेवा उपलब्ध गराउने अस्पतालको मुख्य लक्ष्य रहेको जानकारी दिनुभयो । अस्पताल एकसय शय्याको हुने बताइएको छ ।

अर्का डा शंकरमान राईले अग्निपीडित र तालु फाटेकालाई अब काठमाडौँ बाहिरबाटै चिकित्सकीय सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अमेरिकी नागरिक जिम वेकर, फेक्ट नेपालका संस्थापकद्वय हास्य कलाकार हरिवंश आचार्य तथा मदनकृष्ण श्रेष्ठले प्रदेश तहमा नागरिकलाई यस प्रकारको सेवा उपलब्ध गराउन पाउनु खुशीको विषय भएको बताउनुभयो ।

यसैबीच, मुख्यमन्त्री राईले आजै बेलवारी शिक्षा तथा स्वास्थ्य महोत्सवको उद्घाटन गर्दै प्रदेशभित्र औद्योगिक गतिविधि बढाउन संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला नाका खोल्न चीनसँग पहल गर्ने उल्लेख गर्नुभयो ।

युवा जागरण अभियान नेपालको पहिचान, शिक्षा र स्वास्थ्य हाम्रो अभियानको नाराका साथ शुरु भएको महोत्सव १० दिनसम्म सञ्चालन हुने आयोजक युवा जागरण अभियानका अध्यक्ष सुचित सुवेदीले जानकारी दिनुभयो ।