काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टचार गरे सार्वजनिक रुपमै चुनौति दिन पनि सबैसँग आग्रह गरेका छन्।

उनले भ्रष्टाचार अन्त्यका लागि माथिल्लो निकाय मातहतको नजरमा गिर्न नहुने सूत्र पनि प्रस्तुत गरे। शुक्रबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफू मातहतको निकायमा नगिर्ने प्रतिवद्धता व्यक्त गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले माथिल्लो निकाय मातहतको निकायमा नगिर्नु नै भ्रष्टाचार अन्त्य गर्ने सूत्र भएको तर्क गरे। प्रधानमन्त्री ओलीले सरकारले ढिला नगरी मुलुकको आवश्यक्ता अनुसारको शैक्षिक जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रको विकासका लागि सरकारले आवश्यक्ता अनुसारको जनशक्ति उत्पादन गर्ने विधि र प्रक्रियाको विषयमा गम्भिर छलफल गरिरहेको पनि बताए।

प्रधानमन्त्री ओलीले मुलुकको समग्र क्षेत्रको विकासलाई अघि बढाउन पनि दक्ष जनशक्ति उत्पादनको काममा ढिलाई गर्न नहुनेमा सरकार सचेत रहेको पनि बताए।

-छलफल बाट साभार