वीरगंज– प्रेमीसँग बिहे गर्न भाडामा सुटर खटाएर श्रीमानको हत्या प्रयासको आरोपमा पक्राउ परेकी वीरगंजकी प्रियंका रौनियारले घटनापछि आफुलाई पश्चाताप नभएको बताएकी छिन्। पक्राउ परेपछि प्रहरीलाई दिएको मौखिक बयानमा उनले श्रीमान र उनको परिवारले धेरै यातना दिएकाले आफुले यस्तो बाटो रोजेको बताएकी छिन्।

‘श्रीमानलाई मार्ने नै योजना थियो, तर उ बच्यो खुशी नै छु,’ पक्राउपछि उनले भनिन्,‘मलाई कुनै पश्चाताप छैन, पक्राउ परेपछि अबको जीवन प्रेमीसँगै बिताउँछु।’ मिलेसम्म आफुले जेलभित्रै प्रेमीसँग बिहे गर्ने योजना बनाएकी उनले बताएकी छिन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रियंकाले ४ वर्षअघि उमेश रौनियारसँग बिहे गरेकी थिइन्। उमेश बैदेशिक रोजगारीको क्रममा दुबई जाँदा उनको बिजेन्द्र गुप्तासँग प्रेस सम्बन्ध गाँसिएको थियो। गुप्तासँगै बिहे गर्न भाडा सुटरलाई प्रयोग गरी उनले श्रीमानलाई गोली हान्न लगाएकी थिइन्। उमेशमाथि बुधबार साँझ वीरगंजमा गोली प्रहार भएको थियो।

पर्साका एसपी डा गणेश रेग्मीका अनुसार श्रीमानसँग फोनमा कुरा गरी उनी भएको ठाउँ पत्ता लगाई सुटरलाई जानकारी दिएकी थिइन्। गोली लागेका उनका श्रीमानको उपचार भइरहेको छ। घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

एसपी रेग्मीका अनुसार श्रीमानले मदिरा पिएर आएर गाली गर्ने र आफुलाई काममा समेत जान नदिएकाले यस्तो गरेको बताएकी छिन्। ‘मलाई घरमा नोकरजस्तो बनाएर राखिएको थियो, त्यही मेरो दिमागमा यस्तो कुरा आयो,’ प्रहरीसँग उनले भनेकी छिन्।

प्रियंका र उनका प्रेमी दुवै अनमि हुन्। पढ्ने क्रममा उनीहरु प्रेमसम्बन्धमा गाँसिएका थिए।

-नेपाली लाइभ डट कम बाट साभार