योनिबाट सेतोपानीजस्तो पदार्थ बग्नुलाई योनिश्राव भनिन्छ। हाम्रो सामान्य शरीरक्रियासँग सम्बन्धित प्रक्रिया भएकाले योनिश्राव स्वाभाविक हो। यस्तो स्वाभाविक योनिश्राव महिनावारी हुने बेला वा यौन उत्तेजना भएका बेला हुन्छ।
पाठेघरको मुखबाट हुने श्राव यस्तै महिनावारी भएको हप्तापछि सुरु भएर डिम्ब निष्कासनका बेलासम्म हुन्छ। यस्ता स्वाभाविक किसिमका योनिश्रावका लागि कुनै किसिमको उपचारको आवश्यकता पर्दैन।
यीबाहेक, प्रजनन अङ्गका संक्रमणहरू, जसमा यौनरोग पनि पर्छ, अस्वाभाविक योनिश्राव हुने प्रमुख कारण हुन्। सामान्य रूपमा योनिबाट आउने श्रावभन्दा धेरै बढी मात्रामा आउने, गन्हाउने किसिमको वा मैलो किसिमको योनिश्राव हुन थाले त्यसलाई अस्वाभाविक योनिश्राव भनेर बुझ्नुपर्छ। यौनरोग भन्नाले यौनसम्पर्कको माध्यमबाट सर्ने रोगहरूलाई बुझाउँछ। संक्रमणमा अस्वाभाविक योनिश्राव हुन्छ। प्रायःजसो प्रजनन अङ्गको संक्रमणमा चिलाउने हुनसक्छ ।
लिम्फोग्रालुनोमा भेनेरमः यो क्लामाइडिया ट्राकोमाटिसले गराउने एक किसिमको यौन रोग हो। यसमा पीपजस्तो गन्हाउने योनिश्राव हुन्छ अनि भगक्षेत्रमा नदुख्ने किसिमको घाउ देखा पर्छ।
ब्याक्टेरियल भ्याजिनोसिसः स्वाभाविक रूपमै योनिमार्गमा हुने गार्डनेरेला भनिने जीवाणु अत्यधिक रूपमा बढ्न गै हुने यसमा माछाको जस्तो गन्हाउने हुन्छ जुन यौन सम्पर्कपछि वा महिनावारी पछि अझै स्पष्ट रूपमा देखा पर्छ।
पाठेघरको मुखकोः पाठेघरको मुखमा हुने स्क्वामस कोषभन्दा फरक किसिमको श्लेम बनाउने कोलुमनार कोष बढ्दा बढी यो नि श्राव हुनसक्छ।
भ्याजिनल एडेनोसिसः योनिको भित्तामा हुने स्क्वामस कोषको सट्टामा श्लेम बनाउने कोलुमनार कोष बढेर श्लेष्म किसिमको यो निश्राव बढी मात्रमा हुनसक्छ।
बाह्य वस्तुः कुनै बाह्यवस्तु योनिमा रहन गएको स्थितिमा पनि बढी योनिश्राव हुन सक्छ।
ट्राइकोमोनियासिसः ट्राइकोमोनास भ्याजिनालिसको संक्रमणबाट हुने यो संक्रमणमा चिलाउने नै प्रमुख लक्षण हुन्छ। बाक्लो योनिश्राव हरियो, पहेंलो वा क्रिम किसिमको हुनसक्छ। यसको श्राव फिँजजस्तो हुन्छ। योनि तथा भग क्षेत्रमा दुख्न सक्छ। चिलाउने र योनिश्राव महिनावारी सकिना साथ बढी हुन्छ।
क्यान्डिडियासिसः यो क्यान्डिडा एल्बिकान्स भनिने एक प्रकारको ढुसीको संक्रमणले हुन्छ। थोरै मात्रामा यो योनिमा हुने भए पनि विशेष गरेर ग्लुकोजको मात्रा बढी भएको तथा योनिमार्ग बढी अम्लीय भएको बेलामा बढी हुन्छ। यो समयमा योनि एकदमै चिलाउँछ। योनिश्राव बाक्लो, सेतो र चीजजस्तो हुन्छ र कतिपयले यसलाई दही जस्तो पनि भन्छन्। माछाको गन्धजस्तो पनि आउन सक्छ। यौनसम्पर्कमा पनि पीडा हुनसक्छ। महिनावारी भएको बेला यसको लक्षण कम हुन्छ।
विशेष गरेर सेतो पानी बग्नुका साथै चिलाउने प्रकारको संक्रमणको कुरा गर्दा ट्राईकोमोनास, क्यन्डिडियासिस तथा गोनोरियाजस्ता संक्रमण प्रमुख रूपमा देखा पर्न सक्छन्।
त्यसबाहेक प्रजनन मार्गको टयूमरः प्रजनन मार्गको तल्लो भागमा कुनै घाउ, ससाना चोटपटक, पोलेको वा टयूमरमा संक्रमण भए पनि यो नि श्राव बढी हुनसक्छ।



