सोमबार मात्रै अर्थमन्त्रीको रुपमा काम थालेका डा. युवराज खतिवडाको एउटै निर्देशनले एकै दिनमा भन्सार बिन्दुबाट १ अर्व २२ करोड रुपैयाँ राजस्व संकलन भयो । शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती कामचलाउ सरकारले रित्याएको ढुकुटीमा राजस्व संकलनले उच्च विन्दुको पहिल्याएको हो ।
खतिवडाले अर्थमन्त्रीको कार्यभार लिनासाथ राजस्व सचिव र भन्सार विभागमार्फत सम्पूर्ण भन्सार कार्यालयलाई सन्न्दर्भ मुल्यसूची (रिफरेन्स भ्यालु) भन्दा कम हुनेगरी भन्सार मुल्य निर्धारण नगर्न निर्देशन दिएका थिए । अर्थमन्त्री खतिवडाको सो निर्देशन मंगरबार सम्पूर्ण कार्यालयमा सर्कुलेट भयो ।
खतिवडाको निर्देशनको प्रभाव २४ घन्टाभित्रै देखापर्यो । बुधबार देशभरका भन्सार विन्दूबाट कूल १ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भयो । भन्सार विन्दूहरुबाट एकै दिनमा संकलन भएको यो परिमाणको राजस्व अहिलेसम्मकै उच्च भएको भन्सार विभागका अधिकारीहरुले बताएका छन् ।
मन्त्री खतिवडाले भन्सार विन्दूमा मालवस्तुको घोषणा गर्दा न्यून मूल्य देखाएर कर छली हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न सन्दर्भ मूल्यसूचीकै आधारमा मूल्यांकन गर्न निर्देशन दिएका थिए । ‘भन्सारमा हुने विभिन्न किसिमका कमजोरीमध्ये एउटा न्यून मूल्यांकन पनि हो, अहिले त्यसैको नियन्त्रणका लागि हामीले काम गरिरहेका छौँ,’ भन्सार विभागका उपपमहानिर्देशक श्रीकृष्ण नेपालले भने, ‘अन्य जोखिमहरु देखिए भने त्यसको नियन्त्रणका लागि पनि भविष्यमा थप कदम चाल्नेछौँ ।’
सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । त्यसमध्ये भन्सार विभागलाई ३ खर्ब २६ अर्ब अर्थात करिब ४५ प्रतिशत असुलीको लक्ष्य दिइएको छ । यद्यपि माघ मसान्तमा भन्सार विन्दूहरुबाट लक्ष्यको तुलनामा ९५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । राजस्व संकलनको लक्ष्य पूरा गर्न दैनिक १ अर्व असुली गर्नेगरी खतिवडाले भन्सार विभागलाई यस्तो निर्देशन दिएका हुन् ।
पूर्ववर्ती सरकारले जाँदाजाँदै सरकारको ढुकुटीलाई ऋणात्मक बनाएका बेला अर्थमन्त्रीमा खतिवडाको आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । खतिवडाको एउटै निर्देशनले भन्सार विन्दुमा मालवस्तुको घोषणा गर्दा न्युन मुल्य देखाएर करछली हटेको हो ।










