काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई एक बनाउनका लागि पार्टी एकता हुने बताएका छन् ।
एमाले र माओवादीबाट निर्वाचित भएका सांसदको एकीकृत बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले अब भाँड्ने खेल बन्द हुने बताए ।
नेपालको राजनीति र वाम एकतामा भारतको चासो रहेको र त्यसलाई आफूहरुले सकारात्मक रुपमा लिएको ओलीले बताए । केही हप्ताअघि भारतीय विदेशमन्त्री नेपालभ्रमणमा आएकी थिइन् भने आउँदो सोमबार पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै छन् ।
चुनौती झेलेर तय गरेको यात्रा ओलीले ठूला चुनौतीहरु झेलेर आफूहरु यहाँसम्म आइपुगेको बताए । कानुन र सरकार जन्मने ठाउँमा एमाले र माओवादीका सांसद भेला हुनु र एकताको बलियो सन्देश दिनु विकासको आधार बन्ने ओलीले बताए ।
उनले भने, ‘ऐतिहासिक भेलामा हामी उत्साहित र गम्भीर दुवै छौँ । हामी भित्र र बाहिर सफा हुनु पर्छ । गम्भीर बनेर काम गर्नु पर्ने आवश्यकता छ ।’
पहिले पनि आफूहरु सँगै बसेको तर सांसदको संयुक्त बैठक भने ती सबैभन्दा अर्थपूर्ण रहेको उनले बताए । उनले भने, ‘हामी मनले एक भइसकेका छौँ, अब विधिमा मात्रै एक हुन बाँकी छ । त्यो पनि चाँडै पूरा हुनेछ ।’
उमेरको व्यंग्य सम्बोधनको क्रममा ओलीले आफू उमेरको झमेलाबाट उम्किएको बताउँदै नेपाली राजनीतिमा पछिल्लो समय विवादको घेरामा रहेको फरक उमेरको विषयामा व्यंग्य गरे ।
उनले भने, ‘अदालत र माइतीघर घरमा जन्म मितिको लफडा हुँदै गर्दा भाइ महेन्द्र राय यादवबाट शपथ लिनु पर्ने भो । मितिको झगडाम म जोगिने भएँ, किनकी म एकपटक मात्रै जन्मिएँ ।’
स्मरण रहोस्, ६३ वर्षका महेन्द्र राय यादवको नागरिकता अनुसार उमेर ८० वर्ष भएको छ । संसदको जेष्ठसदस्यका रुपमा उनले नै अरु सांसदलाई शपथ गराउने तय भएको छ । यस्तै प्रधानन्यायाधीश गोपाल पराजुली र डा. गोविन्द केसीको पनि थरिथरीका उमेर रहेको सार्वजनिक भएको छ ।
पछिल्लो समय स्वतन्त्र न्यायालयको चाहनामा धक्का लागेको ओलीको भनाई छ । सरकारको काममा अदालतले दखल दिएको उनको आरोप पनि छ । उनले सरकारले गरेको सिफासिरसका बारेमा बोलेर अदालतले शक्ति पृथकिकरणको सिद्धान्तको खिल्ली उडाएको पनि बताए ।
अबको बाटो के ? ओलीले अबको बाटो सोचे जस्तो सजिलो नरहेको बताए । बाटोभरि चुनौतीका धेरै पर्खाल भत्काउनु पर्ने र सरकार त्यसका लागि तयार रहेको उनको भनाई छ । रोजगारी सिर्जना गर्नु मुख्य चुनौती रहेको उनले बताए ।
यस्तै प्रतिपक्षीलाई पनि सँगै लिएर विकासको बाटोमा देशलाई लैजाने उनले बताए । यसैगरी सरकारी संयन्त्रलाई संविधान र कानुन अनुसार चलाउने पनि उनले बताए ।
सांसदलाई ओलीको निर्देशन प्रधानमन्त्री ओलीले सांसदलाई निर्देशन दिँदै सरुवा बढुवाको नभइ विकासको फाइल बोक्न आग्रह गरे । उनले भने, ‘पाँच वर्ष हामिले विकासका लागि खर्चिने हो । त्यसैले सानो कुरामा नअल्झिनु । नखाने नखानु । नजाने ठाउँमा नजानु ।’
व्यंग्यात्मकशैलीमा उनले अघि भने, ‘यति भने पछि बुझ्नु भो होला । संसदमा अनिवार्य उपस्तिथि हुनै पर्छ त्यो पनि पूरै समय, कर्मचारी जस्तो हाजिर गरेर भाग्ने हैन । हरेक समितिका सदस्यलाई जानकारी हुनु पर्छ ।’ व्यक्तिको होइन विकासको पछि लाग्न उनले सुझाव दिए ।देशसञ्चारबाट










