विष्णुप्रसाद पोखरेल दमक । झापाको दमकमा चिनिया लगानीमा बन्ने भनिएको औधोगिक पार्कको जग्गा अधिग्रहणका लागि औधोगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले दमक नगरपालिकामा कार्यलय खोलेर काम शुरु गरेको छ । बुधबारदेखि नै जग्गा अधिग्रहण तथा यससंग सम्बन्धित कामका लागि कार्यालय स्थापना गरेर काम शुरु भएको औधोगिक पार्कका अध्यक्ष गोविन्द थापालले बताउनु भयो ।

थापाका अनुसार औधोगिक पार्कका लागि अधिग्रहण शुरु गरिएको जग्गाभित्र रहेका घरपरिवारहरुलाइ ब्यवस्थापन गरि सकिएको छ । पार्कका अध्यक्ष थापाका अनुसार औधोगिक पार्क बन्ने नगरपालिका र गाँउ पालिकासंग समन्वय गरेर यस क्षेत्रभित्र पर्ने घरहरुलाइ ब्यवस्थापन गरि सकिएको हो । दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाँउपालिकामा यो जग्गा पर्दछ । औधोगिक पार्कले दूइ नगरपालिका र एक गाँउ पालिकालाइ छुने थापाले जनाउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

औधोगिक क्षेत्र ब्यवस्थापन लिमिटेडको नाममा ल्याउनका लागि पार्क स्थलको ३ सय ६६ बिगाह जमिन अधिग्रहणका लागि आवश्यक कामकारवाही अघि बढाउन र जग्गाधनीहरुको सहजताका लागि दमक नगरपालिका भित्र नै कार्यालय स्थापना गरेर काम शुरु गरिएको थापाले जानकारी दिनु भयो । औधोगिक पार्कका लागि यो महत्वपूर्ण फड्को भएको पनि उहाँको भनाइ रहेको छ । अधिग्रहणका लागि सार्वजनिक सूचना जारी भएर काम अघि बढेपछि लिमिटेडको सम्पर्क कार्यालय सञ्चालनमा आएको बताइन्छ ।

आफूहरुको पहलमा यसभन्दा अगाडि नै ९ सय ४२ बिगाह जमिन औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आइसकेको र पार्कका लागि चाहिने आवश्यक जग्गा उपलब्ध गराउन आफूहरुले सहजिकरण गरिरहेको पनि थापाले बताउनु भयो । उहाँले भन्नुभयो–‘स्थानीयहरु उत्साह र खुसिकासाथ अधिग्रहण प्रक्रियामा सहभागि भइरहनु भएको छ, यो हाम्रा लागि खुसिको कुरा हो ।’

औधोगिक पार्कको जग्गा ब्यवस्थापनको काम भइरहदा शनिबार काठमण्डौमा चिनिया प्राविधिक टोली आएर उद्योग स्थापना लगायतका बिषयमा काम शुरु गर्ने पनि अध्यक्ष थापाले बताउनु भयो । उहाँका अनुसार प्राविधिक टोलीले आफूहरुसंग समन्वय गरेर उद्योग बिभाग, लगानी बोर्ड, उद्योग मन्त्रालय लगायत सम्बन्धित सरोकारवाला निकायहरुसंग छलफल गर्ने कार्यक्रम तय भएको छ ।