काठमाडौं, १९ फागुन– सरकारी कागजात किर्ते गरेको अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालले आफू ‘फरार अभियुक्त’ नभएको बताएका छन् ।
शनिवार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित एमाले र माओवादीका सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा पुगेका सिलवालले सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै आफूविरुद्ध कुनै मुद्दा दर्ता नभएको र आफू फरार अभियुक्त नभएको दावी गरेका हुन् ।
सिलवाल सांसद भवन पुगेपछि केही सञ्चारमाध्यमले ‘फरार अभियुक्त सिलवाल संसद भवनमा’ भन्दै समाचार सम्प्रेषण गरेका थिए । सञ्चारमाध्यममा आएका समाचारप्रति संकेत गर्दै सिलवालले ट्वीटरमा भनेका छन्, ‘नवराज सिलवालमाथि कुनै औपचारिक अभियोग दर्ज पनि छैन र उ कुनै फरार व्यक्ति पनि होइन । तथ्यलाई वंग्याएर केही मित्रहरूले अन्यथा ढंगले प्रचार गरी जनमानसमा भ्रम फैलाएको प्रति दुःख व्यक्त गर्दछु ।’
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बढुवासम्बन्धी मुद्दामा सरकारी कागजात किर्ते भएको भन्दै सर्वोच्च अदालतले अनुसन्धान गरी कारबाही गर्न आदेश दिएको थियो । सोही अनुसार सरकारले सिलवालविरुद्ध किर्ते मुद्दा दर्ता गरी उनको खोजी गरेको थियो ।
सरकारले गत पुस ५ गते महानगरीय प्रहरी परिसरमा सिलवालविरुद्ध किर्ते मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको थियो । त्यसयता प्रहरीले उनको खोजी गरेपनि उनी ‘फरार’ थिए । तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएर एमाले अध्यक्ष केपी ओली नयाँ प्रधानमन्त्री बनेसँगै सिलवाल सार्वजनिक भइसकेका चर्चा चलेकाे थियाे ।
मुद्दा दर्ता भएयता सिलवाल पहिलोपटक सार्वजनिक रुपमा शनिवार संसद भवनमा आयोजित प्रशिक्षणमा सहभागी भएका हुन् । सरकारले उनीविरुद्ध दर्ता गरेको मुद्दा भने यथावत छ ।
-लोकान्तर बाट साभार









