शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन् ।

बुद्धवचन 'धम्मपद' एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले वाचन गरी उक्त प्रमाण पेश गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि त्यसरी त्यही संख्यामा धम्मपद सामूहिक रुपमा वाचन नभएको सन्दर्भमा 'गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्'मा उक्त प्रयास अभिलेखीकरण गरेर कीर्तिमान बन्ने पक्का भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत मन्त्रीहरु, कलाकार, विद्यार्थीसहित विभिन्न पेशा व्यवसायमा रहेका नेपालीले आज टुँडिखेलमा बसेर सामूहिक वाचन गरेका हुन् ।

विश्व कीर्तिमान परिषद् नेपालको अगुवाइमा गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'शाक्यमुनि बुद्धप्रति आदर सम्मानसहित सबैको तर्फबाट नमन गर्दछु, बुद्ध भूमिबाट शान्तिको कामना गर्दछु ।'

केही स्थानमा बुद्धका विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै उgले नेपालमा बुद्ध जन्मेको होइन भन्ने भ्रममा पर्नु पर्दैन' भने । प्रधानमन्त्री ओलीले भने, 'बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्, यसमा विवाद नगरौँ ।'

विश्वमा शान्ति स्थापना गर्न आग्रह गर्दै उनले सिरियामा भइरहेको हत्या हिंसाको विरोध गरे । प्रधानमन्त्रीले भने, 'दुनियाँका सरकार तथा नेतालाई शान्तिपूर्ण तवरबाट अघि बढ्न आग्रह गर्दछु, हिंसा नगरौँ, शान्ति र मित्रताले अगाडि बढौँ ।' उनले आन्दोलनरत विप्लव समूहलाई पनि वार्तामार्फत आफ्ना माग पूरा गर्न आह्वान गरे ।

आयोजकका तर्फबाट प्रतिष्ठा अमात्यले बुद्धको वचन वाचनका लागिमात्र नभई पालना गर्नका लागि भएको बताए ।