पछिल्लो समय फरक फरक जन्ममितिका कारण प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली चर्चामा छन् । उनले फरक फरक जन्ममितिमा फरक फरक नागरिकता बनाएका समाचार सार्वजनिक भएपछि यो विषयले सबैको ध्यान खिचेको थियो । प्रधानन्यायाधीश जस्तो सम्मानित पदमा हुने व्यक्तिको समेत फरक फरक जन्ममिति देखिएपछि भ्रष्टाचार र अनियमितताको पक्षमा आवाज उठाउँदै आएका डा. गोविन्द केसीले त्यसको विरोधमा अनशन नै सुरु गरे ।

पछि उनलाई अदालतको मानहानीको आरोपमा पक्राउ समेत गरियो । केसीको पक्षमा जनमत बलियो हुँदै गएपछि उनलाई थुनामुक्त गरियो । पछि उनै केसीको समेत फरक फरक जन्ममिति भएको पत्ता लाग्यो । यो कुरालाई स्वयं केसीले समेत स्वीकार गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले आएर उमेरको लफडा सांसदको जेष्ठ सदस्यसम्म आइपुगेको छ । संघीय संसदको पहिलो बैठकमा राष्ट्रिय जनता पार्टीको टिकटमा निर्वाचित ६३ वर्षिय महेन्द्र राय यादवले ८० वर्षे भूमिका निर्वाह गरेर सपथ खुवाउदै छन् ।

उनको वास्तविक उमेर ६३ वर्ष भएपनि गलत विवरण भरेर उनले आफ्नो उमेर ८० वर्ष पुर्याएका हुन् । उनी आफैले पनि गलत विवरण प्रस्तुत गरेको स्वीकार गरिसकेका छन् तर पनि सपथ खुवाउनका लागि ज्येष्ठ सदस्यका रुपमा आइतबार १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले यादवलाई पद तथा गोपनीयताको शपथ खुवाउदै छिन् ।

राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ ग्रहणको तयारी सकिएको जानकारी दिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा ज्येष्ठ सदस्यको शपथ लिएपछि उनले नै प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने छन् । प्रतिनिधिसभाका सभामुखको निर्वाचन नभएसम्म उनले नै बैठकको अध्यक्षता गर्ने गरी व्यवस्था मिलाइएको छ । यादव प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।