काठमाडौं– मोरङ, उर्लााबारीका सनम शाक्यलाई अपहरणपछि करेन्ट लगाएर हत्या गरिएको खुलेको छ। तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा उनको हत्या भएको हो।
हत्यामा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तले प्रहरीलाई बताएपछि सुनबारे बास्तविकता पत्ता लगाउन उनलाई बन्धक बनाएपछि करेन्ट लगाइएको थियो। करेन्ट लगाएर सुन लुकाइएको स्थान पत्ता लगाउन खोज्दा उनको मृत्यु भएको हो। मृत्युपछि कसैले थाहा नपाउने गरी चारकोशे झाडीमा लगेर शव गाढ्न खोज्दा उनीहरु पक्राउ परेका हुन्।
अपराध महाशाखाका डिएसपी प्रजित केसीको टोलीले उनीहरुको बा १२ च ५९६३ नम्बरको गाडीलाई पिछा गरी पक्राउ गरेको हो। शाक्यको शव विराटनगरको पोखरीयामा भेटिएको हो। शुक्रबार राती उनीहरुले शव गाड्न लैजाने तयारी गरेका थिए। प्रहरीले पहिले नै सूचना पाएर शव बरामद गरिएको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए।
सिराहको एकान्तस्थलमा लगेर बन्धक बनाई करेन्ट लगाएर तथा कुटपिटपछि उनको हत्या भएको प्रहरीले जनाएको छ। शव लुकाउन लिएर हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। हत्या गरिएका शाक्यलाई एक समूहले सुन तस्करीमा प्रयोग गरेको थियो। तर उनले ल्याएको सुन हराएको थियो। त्यसपछि सो समूहले विभिन्न व्यक्तिहरु प्रयोग गरी बन्धक बनाई करेन्ट लगाएर हत्या गरेका हुन्। पक्राउ परेका व्यक्तिहरु शव लुकाउने काममा मात्र संलग्न भएका व्यक्ति हुन्।
मुख्य नाइकेहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मुख्य नाइकेहरुमा व्यापारीहरु छन्।
पक्राउ परेकामध्ये काफ्ले र कार्की पनि सुन तस्करीका भरिया हुन्। उनीहरुलाई समेत तस्करको समूहले कुटपिट गरेका थिए।नेपाल लाइभ बाट साभार










