वासिंगटन- अमेरिकी राष्ट्रपतिको कार्यालय रहेको ह्वाइट हाउस अगाडि एक व्यक्तिले आफैमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन्। स्थानीय समयानुसार शनिबार साँझ ५ बजे पेन्सिलभेनिया एभिन्युस्थित ह्वाइट हाउसको उत्तरतर्फको पर्खाल अगाडि पेस्तोलले आफुलाई नै गोली प्रहार गरेका थिए।
प्रहरीका अनुसार गोली प्रहार लगत्तै उनको घटनास्थलमा नै मृत्यु भएको र अन्य कसैलाई पनि क्षती नपुगेको बताइएको छ।
घटनाको समयमा राष्ट्रपति डोलाल्ड ट्रम्प ह्वाइट हाउसमा थिएनन्। उनी श्रीमती मेलानिया ट्रम्पसँगै फ्लोरिडा गएको समयमा सो घटना भएको हो। उनीहरु शनिबार बेलुकाको खानाको लागि वासिंगटन फर्किने कार्यक्रम थियो।
सो क्षेत्रमा मानिसहरुको भीड रहेको समयमा ती व्यक्तिले आफैमाथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुको भनाईलाई उदृत गर्दै वासिंगटन पोष्टले लेखेको छ।
ट्विटरमा पोष्ट गरिएको भिडियोमा पनि धेरै मानिसहरु घटनास्थल वरपर भागाभाग गरिरहेको देखिएको छ।
प्रहरीले हालसम्म पनि आत्महत्या गर्ने व्यक्तिको नाम र कारण सार्वजनिक गरेको छैन। वासिंगटन डिसी प्रहरीले शनिबार राति एक ट्विट गर्दै घटनाको पुष्टि गरेको थियो। घटनास्थलमा प्रहरी पुगेको पनि ट्विटमा उल्लेख छ।
पछिल्ला केहि वर्ष यता ह्वाइट हाउस क्षेत्रमा यस्ता घटनाहरुको संख्यामा वृद्धि भएको छ।
गत फेब्रुअरी २३ मा एक कार ह्वाइट हाउसको सुरक्षा सिमाभित्र बिना अनुमति प्रवेश गरेको थियो। सो घटनामा एक जना पक्राउसमेत परेका थिए।
गत वर्षको मार्चमा एक व्याक्तिले आफ्नो शरिरमा मरिचको स्प्रे छर्केर कम्तिमा १६ मिनेट ह्वाइट हाउसभित्र समय बिताएका थिए। उनी पर्खाल नाघेर राष्ट्रपति कार्यालय छिरेका थिए।










