काठमाडौं- नयाँ सरकारमा सहभागी हुने विषयमा छलफल गर्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन्।
संविधान संशोधनमा सरकारसँग सहमती गरेका फोरम अध्यक्ष यादवले मन्त्रालय बाँडफाँटमा सहमती गर्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेका छन्।
बालुवाटार स्रोतका अनुसार बैठकमा एमालेबाट प्रधानमन्त्री ओलीसहित नेता भीम रावल सहभागी छन्। माओवादी केन्द्रबाट अध्यक्ष दाहालसँगै नारायणकाजी श्रेष्ठ उपस्थित छन् भने फोरमबाट यादवसहित राजेन्द्र श्रेष्ठ सहभागी छन्।
प्रधानमन्त्री ओलीले फोरमलाई सरकारमा ल्याउने प्रयास स्वरुप निरन्तर छलफल गर्दै आएका छन्। दुई तिहाईको सरकार चलाउने उद्देश्य अनुरुप प्रधानमन्त्री ओलीले परराष्ट्रसहित २ मन्त्रालय र एक राज्यमन्त्री लिएर सरकारमा आउन फोरम अध्यक्ष यादवलाई प्रस्ताव गरिसकेका छन्। फोरमले सरकारमा सहभागी हुन उपप्रधानसहित तीन मन्त्रालयको दाबी गरेको छ। फोरमसँगको वार्ता निष्कर्षमा नपुगेकै कारण प्रधानमन्त्री ओलीले सरकारलाई पूर्णता दिन सकेका छैनन्।










