हामी ब्यवस्थित पार्किङ बनाउन खोज्दैछौ, वडाध्यक्ष टेकबहादुर थापा
हामी सहयोग गर्न तयार छौ, डिएसपि दीपक गिरी
पार्किङ नहुदा कार्वाही गर्न सकेनौ, सइ बिनोदकुमार खतिवडा
विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक नगरपालिकाको चोक तथा बजार क्षेत्रको अब्यवस्थित पार्किङ तथा सडक अतिक्रमण हटाउने तयारी शुरु भएको छ । सवाल नेपाल अनलाइनको कार्यालयमा आइतवार भएको छलफलमा सरोकारवाला निकायहरुले यस्तो प्रतिबद्धता जनाएकाहुन् । दमक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष एवं नगरपालिकाले बनाएको वातवरण तथा बिपद ब्यवस्थापन समितिका संयोजक टेकबहादुर थापाले नगरपालिकाले यस्तो कार्य रोक्ने बताए ।
उनले पार्किङको बिषयमा छलफल समेत भइरहेको जनाउदै अतिक्रमण तथा फुटपाथ मिचेर ब्यापार ब्यवसाय गर्ने र जथाभावी बोर्डहरु रोक्ने कार्य सोमबारदेखि रोक्ने उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले फूटपाथ मिच्ने कार्यले दूर्घटना बढेको र दूर्घटनाको जोखिम रहेको भन्दै नगरपालिकाको अगुवाइमा यसलाइ हटाइए आफूहरुको सहयोग रहने बताए ।
उनले यो कार्य तत्काल गर्न पनि तयार रहेको प्रतिबद्धता जनाउदै सोमबारदेखि यसका लागि प्रहरी खटाएर सहयोग गर्ने उनको भनाइ रहेको थियो । इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख बिनोदकुमार खतिवडाले पार्किङको असुविधाका कारणले आफूहरुलाइ जथाभावी पार्किङ गर्नेलाइ कार्वाही गर्न नसकिएको बताए । उनले पार्किङ क्षेत्र तोकिएपछि त्यो बाहेकका ठाँउमा पार्किङ गर्नेलाइ जरिवाना तथा कार्वाही गरिन सक्ने जनाए ।










