पशुपतिजीसँग एउटा क्याफेमा भेट भएको थियो । खासमा म मेरो साथीलाई भेट्न गएकी थिएँ । भेट्न गएको साथीको साथी हुनुहुँदो रहेछ पशुपतिजी । उहाँसँग आउनुभएको रहेछ । त्यही हो हाम्रो पहिलो भेट । म्युचुअल साथीमार्फत भेट भो । त्यसवेला सामान्य चिनजान भयो । परिचय भयो । त्यही भेटले मेरो जीवन नै परिवर्तन भयो । म यसलाई मेरो जीवनको ‘टर्निङ पोइन्ट’ मान्छु । त्यसवेला अहिलेजस्तो मोबाइल थिएन, झनै फेसबुक, ट्विटरको हुने त कुरै थिएन ।

ल्यान्डलाइन फोन थियो । कहिलेकाहीँ कुरा हुन्थ्यो । उहाँ काठमाडौंबाहिर जागिरमा नै हुनुहुन्थ्यो । कहिलेकाहीँ फोनमा हुने हाम्रो कुराकानी कहिले बाक्लियो पत्तै भएन । फोनमा कुराकानी भएको केही समयपछि नै हामी साथी मात्रै होइनौँ है भन्ने अनुभूति भएको थियो । कुराकानी अलि लामो हुँदै गयो । पछिपछि त घन्टौँ कुराकानी हुन थाल्यो । प्रायः म दिनभर संगठनको काममा व्यस्त हुन्थेँ । अबेलासम्म घरबाहिर हुन्थेँ । छिट्टै कोठामा आए पनि संगठन अथवा अन्य कामले फोन आउन सक्ने भएकाले फोनमा लामो कुरा गर्न मिल्दैनथ्यो । त्यसैले हाम्रो राति १० बजेपछि मात्र फोनमा कुराकानी हुन्थ्यो । घन्टौँ फोनमा कुरा गथ्र्यौं । एक घन्टा भएपछि फोन आफैँ काटिन्थ्यो । फेरि गथ्र्यौं । त्यसवेला फोन गर्ने शुल्क पनि एकदमै महँगो हुन्थ्यो । पछि बिस्तारै मोबाइल आयो । अलि सजिलो बनायो । तर, मोबाइल आए पनि म जिल्लातिर हिँड्थेँ । कतै मोबाइल टिप्दैनथ्यो । रोमिङ चार्ज लाग्थ्यो । एकदम महँगो थियो । टेलिकमलाई पैसा खुबै तिरियो । फोन गर्न विषय नै चाहिँदैनथ्यो । समय पनि । जतिवेला पनि गरिन्थ्यो । उहाँको कामको सिलसिलामा विभिन्न जिल्लामा सरुवा भइरहन्थ्यो । भेट्न सम्भव थिएन । हामी फोनमा नै कुरा गथ्र्यौं । त्यसवेला म अखिलको अध्यक्ष थिएँ । जिम्मेवारी बढी थियो । त्यसरी कतै घुम्न जाँदा अप्ठ्यारो होला भन्ने लाग्थ्यो । त्योभन्दा उचित फोनमा नै कुरा गर्न मन लाग्थ्यो । घुम्न राति १० बजेपछि जाने कुरा आउँदैनथ्यो । फोनमा भए राति १० बजेपछि कुरा गर्न सकिन्थ्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हामी करिब पाँच वर्षसम्म प्रेम सम्बन्धमा रह्यौँ । एक–अर्कालाई प्रेम प्रस्ताव राख्ने पनि भएन । प्रस्तावको जरुरी नै भएन । एक–अर्कालाई माया गथ्र्यौं । पाँच वर्षपछि भने अब विवाह गर्नुपर्छ भन्ने भयो । विवाह ग¥यौँ । अहिले बाबु छ । फेब्रुअरी १२ मा हामीले विवाह गरेको आठ वर्ष लागेको छ । हामीले १४ फेब्रुअरीमा विवाह गर्ने योजना बनाएका थियौँ, तर विभिन्न प्राविधिक कारणले सफल भएन । दुई दिनअघि विवाह गर्यौँ । खुसी छौँ । परिवारमा पनि मलाई सबैले माया गर्नुहुन्छ । म मगर उहाँ पुरी भए पनि हाम्रो विवाह गर्ने वेला केही समस्या आएन । विवाहअघि पशुपतिबाबु पुरी र विवाहपछिको पशुपतिबाबु पुरीमा केही अन्तर पाएकी छैन । सहयोगी हुनुहुन्छ । सल्लाह दिनुहुन्छ । परिवारले पनि सहयोग, साथ दिइरहनुभएको छ । रामकुमारी विवाहपछि हराई भन्ने पनि भयो । तर, संयोगबस विवाहपछि पार्टीभित्रको आन्तरिक कारणले म राजनीतिमा जिम्मेवारी पाउने विषयमा परिनँ । त्यसले म निष्क्रियजस्तै भएँ । तर, निष्क्रिय थिइनँ । जिम्मेवारी नपाएर मात्र त्यस्तो देखिएको हो । नत्र म सधैँ नै सक्रिय नै छु । बाबु जन्मेपछि केही महिना भने आमा भएर बसेँ । तर, केही समयपछि आफ्नो कार्यक्षेत्रमा फर्किहालेकी थिएँ । त्यही कारणले नै आज मलाई पार्टीले प्रतिनिधिसभा सदस्यमा चुनेको छ । र, विवाहपछि पनि मलाई पशुपतिजीको साथ र सहयोग हुँदै आएको छ । एक–अर्कालाई राम्ररी बुझेका छौँ । विवाह गरेर ‘गज्जब’ गरेछु भन्ने लाग्छ ।

रामकुमारी झाँक्री, प्रतिनिधिसभा सदस्य

-गज्जबको साप्ताहिकबाट साथै ईनया पत्रिका डट कम बाट