काठमाडौं- प्रतिनिधि सभाको पहिलो बैठक सम्पन्न भएको छ। बैठककाे सुरुवातमा राष्ट्रपति विद्यादेवि भण्डारीले पठाएको पत्र पढेर सुनाइएको थियो।
संसदको सबैभन्दा ज्येष्ठ सदस्यको रुपमा संसद् बैठक सञ्चालन गरेका महन्थ ठाकुरले राष्ट्रपतिबाट प्राप्त सरकार गठन सम्बन्धी पत्र पढेर सुनाएका हुन्।
संसद् बैठकले प्रतिनिधि सभाको अन्तरिम कार्यविधि सर्वसम्मतले पारित गरेको छ। बैठकमा दलहरुको कार्यव्यवस्था समितिले अाज बिहान मात्रै निर्माण गरेको अन्तरिम कार्यविधि बहुमतले पारित गरेको हो।
बैठकले सभामुख र उपसभामुख चयन नभएसम्म संसद् बैठक सञ्चालन गर्न अावश्यक अध्यक्ष मन्डलका लागि केही सांसदहरुको नाम समेत मनोनित गरेको छ।
खगराज अधिकारी, मानबहादुर विश्वकर्मा, पूर्णाकुमारी सुवेदी, लक्ष्मणलाल कर्ण लगायत सांसदहरुको नाम संसदले चयन गरेको छ।
त्यसैगरी राष्ट्रिय सभाको पहिलो बैठकले पनि आफ्नो अन्तरिम कार्य सञ्चालन कार्यविधि पारित गरेको छ।
संसदको अर्को बैठक फागुन २२ गते बिहान ११ बजे बस्नेगरि स्थगित भएको छ।
नियम नबन्दै नियमापत्ति!
स्वतन्त्र सांसद हैसियतमा रहेका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सभामुखको भुमिका निभाई रहेका महन्थ ठाकुरले अन्तरिम कार्यविधि पेश गर्ने बित्तिकै आफ्नो स्थानबाट उठेर नियमापत्ति जनाए।
बैठक सञ्चालन भइरहेको समयमा सांसद उठेपछि ठाकुरले 'के हो माननीय सदस्य' भनी प्रश्न सोधे। सुवालले संसदको अन्तरिम कार्यविधिप्रति आफ्नो नियमापत्ति रहेको जवाफ दिएका थिए।
लगत्तै ठाकुरले उनलाई हालसम्म संसदमा कुनै पनि नियम नबनेकाले कुन नियम अन्तर्गत नियमापत्ति हो भनि प्रश्न सोधे। सुवाल मौन बसेपछि ठाकुरले पुन: उनलाई बस्न आग्रह गर्दै बैठक अगाडि बढाए।
अन्तरिम कार्यविधिमा सहमत हुने सांसदहरुले हुन्छ भन्नु होला र नहुनेले हुन्न भन्नुहोला भन्दै ठाकुरले कार्यविधि पारित गराए।
संसदमा कुनै पनि काम नियमअनुसार पालना नभएमा सांसदले विरोध स्वरुप उठेर नियमापत्ति जनाउन पाउने परम्परा छ। तर नयाँ संविधान लागू भएपछिकाे पहिलाे प्रतिनिधिसभा भएको र हालसम्म बैठक सञ्चालन नियमावली तयार नभएकाले सुवालले उठाएको प्रश्नमा ठाकुरले यस्तो जवाफ दिएका हुन्। नेपाललाइभ बाट










