काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षीलाई रचनात्मक सहयोग गर्न आग्रह गरेका छन्। संसदमा नेकपा एमालेको तर्फबाट बोल्दै नेपालले धारणा राखेका थिए।

'सरकारलाई हनिमुन पिरियड मनाउन नदिने' भनेर देउवाले सोमबार दिएको अभिव्यक्तिप्रति नेता नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्। 'रचनात्मक प्रतिपक्षको अपेक्षा छ', नेपालले भने, 'तर हनिमुन पनि मनाउन दिन्नौं भन्ने हो भने परिणाम आफैंले भोग्नुपर्छ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले वाम शक्तिको काँधमा ठूलो जिम्मेवारी आएको पनि बताए। 'वाम शक्ति आउँदैमा आत्तिनु पर्दैन', नेपालले भने, 'अधिनायकवाद लाद्छ कि चुनाव नै हुन दिँदैन कि भन्ने सोच्नु जरुरी छैन।' नेपालले सरकारले सुशासन र न्यायको प्रत्याभूति दिनुपर्ने पनि बताए।

झण्डै दुई तिहाइको सरकार बन्न लागेको भए पनि अहंकार राख्ने कुरा नभएको नेपालले बताए।

देशमा विकासको आधारहरु तय भएको भन्दै उनले थपे, 'देश विकासको पहिलो सर्त दिगो शान्ति हो, राजनीतिक स्थिरता हो। हामीले ती आधारहरु तयार गरेका छौं।' चुनौतीलाई ध्यानमा राख्दै नेपाली जनताको भविष्य उज्जल बनाउन काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो।

जनताले देशलाई बनाउने व्यक्ति खोजी गरिरहेको पनि उनले बताए। 'सरकार अब सबै नेपालीलाई समेट्ने गरी विशेष योजना बनाएर अघि बढ्न जरुरी छ', उनले भने, 'उत्पादकत्व वृद्धि गर्नेतिर केन्द्रित हुनुपर्छ। त्यसका लागि पूर्वाधार विकासका सरकारले ध्यान दियोस्। फास्टट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र जल विद्युत्तगृह निर्माण गर्ने कार्यले तीव्रता पाओस्।' नेपाल लाइभ बाट