काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मन ठूलो बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। संसदमा सम्बोधन गर्दै नेता महतोले जनताले एमालेलाई ठूलो दल बनाएको स्मरण गराउँदै अब मन समेत ठूलो बनाउन आग्रह गरे।
प्रधानमन्त्री अब कुनै पार्टीको, हिमाल-पहाड-तराईको नभई सिंगो देशको भएकाले सबैलाई समेटेर लैजान महतोले प्रधानमन्त्री ओलीलाई आग्रह गरे।
उनले संविधान संशोधनको विषयमा अब कुनै सम्झौता नगरी प्रधानमन्त्री ओलीले मनैबाट प्रतिबद्ध भएर प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिए।
भने, 'यहाँ जति पनि सम्झौता हुन्छन् त्यहाँ सधैं धोका भएको छ। अब सम्झौता नगर्नोस्, संविधान संशोधन गर्नोस्।' उनले संविधान संशोधनका लागि कुनै समस्या नरहेको पनि बताए।
'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि राजी हुनुहुन्छ, प्रचण्ड पहिलेदेखि नै संशोधन गरौं भन्ने मान्छे,' महतोले भने, 'अब प्रधानमन्त्रीजी तयार हुनुहोस्, कुनै सम्झौता नगरी ठूलो मन बनाएर संशोधन प्रस्ताव ल्याउनोस्।'
संविधान संशोधनमा असहमती राख्दै आएका ओलीलाई लक्षित गर्दै महतोले आपसी झगडा र लडाइँलाई समाप्त गर्न आग्रह गरे।
नेपाली, मैथिली र हिन्दी मिसाउँदै सम्बोधन गरेका महतोले भने, ‘जनता ने आपको बडा बनाया, अब दिल बडा बनाइए।’
आफूहरु विवाद बढाउने पक्षमा नरहेको बताउँदै नेता महतोले संविधान संशोधनमा इमान्दारीपूर्वक प्रतिबद्ध हुन प्रधानमन्त्री ओलीलाई बारम्बार आग्रह गरेका थिए।
-नेपाल लाइभ बाट









