काठमाडौं, २२ फागुन- संघीय संसद सचिवालयले प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्ष निर्वाचनको कार्यतालिका प्रकाशित गरेको छ । सभामुखको निर्वाचन २६ फागुन र राष्ट्रियसभा अध्यक्षको निर्वाचन ३० फागुनमा गर्न प्रस्ताव गरिएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति र राष्ट्रियसभाको अध्यक्ष एमाले तथा उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रले लिने सहमति भएको छ । सभामुख पदका लागि माओवादीमा आधा दर्जन आकांक्षी देखिएका छन् ।
भावी सभामुखका लागि माओवादीका कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, ओनसरी घर्ती, लेखराज भट्ट, पूर्णाकुमारी सुवेदी र जयपुरी घर्तीले रुची देखाएका छन् ।
नयाँ संविधान जारी भएपछि संसदमा रुपान्तरित संसदको सभामुखमा पनि महराको नाम चर्चामा थियो । त्यो बेला सभामुख पद अस्वीकार गरेका महरा त्यसपछि दुईपटक उपप्रधानमन्त्री बनिसकेका छन् ।
सभामुखका लागि यसपटक लम्जुङबाट चुनाव जितेका गुरुङ, ललितपुरबाट चुनाव जितेकी प्रवक्ता भुसालदेखि जयपुरी घर्तीसम्मको चर्चा छ । निवर्तमान सभामुख ओनसरी घर्ती पनि सभामुख बन्ने चर्चा माओवादी वृत्तमा छ ।
पहिलो संविधानसभामा उपसभामुख रहेकी पूर्णाकुमारी सुवेदीको नाम पनि सम्भावित पात्र हुन् । सभामुख चयनका लागि आगामी शनिबार निर्वाचन हुँदैछ ।
राष्ट्रियसभा अध्यक्षमा को ?
यसअघि राष्ट्रियसभाको अध्यक्षकारूपमा चर्चा गरिएका माओवादीका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बनिसकेका छन् । बादल गृहमन्त्री बनेपछि माओवादीले दीनानाथ शर्माको नाम प्रस्ताव गरेको थियो ।
राष्ट्रियसभाको अध्यक्षका लागि एमालेबाट परशु मेघी गुरुङ, गणेश तिमल्सिना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई र शेरबहादुर कुँवर लगायतको नाम चर्चामा छ ।
यसमा पनि गुरुङ र तिमल्सिनामध्ये एकजना बन्न सक्ने सम्भावना प्रवल रहेको एमाले स्रोतले जानकारी दियो ।
पार्टीका पूर्वसचेतक समेत रहेका गुरुङ ३ पटक सांसद बनिसकेका छन् । यस्तै पर्वतनका तिमल्सिना अध्यक्ष केपी ओली नजिक मानिन्छन् ।
राष्ट्रियसभा सदस्य चयनका लागि ३० गते निर्वाचन हुनेछ ।










