पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासीको नेपाल भ्रमणको विषयलाई लिएर भार तले शंका व्यक्त गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पाकिस्तानी प्रधानमन्त्री अब्बासीलार्इ स्वागत गरेको घटनालार्इ भारतीय सञ्चार माध्यमहरूले भारतको चिन्ताको रूपमा समाचार प्रस्तुत गरेका छन् ।
आइतबार पाकिस्तानी परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको वक्तव्यमा भ्रमणलार्इ क्षेत्रीय देशहरूसँगको सम्बन्धलार्इ सक्रिय पार्ने कडीको रूपमा उल्लेख गरेसँगै भारतले यसलार्इ नजिकबाट हेरिरहेको छ ।
‘दिल्लीले भ्रमणको बारेमा आधिकारिक प्रतिक्रिया दिइसकेको छैन्, तर पछिल्लो विकास क्रममालार्इ नजिकबाट नियाली रहेकाहरूले भारतीय सरकार भ्रमणलार्इ सावधानीपूर्वक हेरिरहेको बताउँछन्’, भारतीय पत्रिका मिन्टमा एलिजावेथ रोशले लेखेकी छन् ।
रोशको विश्लेषणमा भ्रमणलार्इ दिल्लीले नजिकबाट हेर्नुका तीन कारण उल्लेख गरेकी छन् । नेपालका प्रधानमन्त्री ओली ‘प्रो–चाइना’ छवि भएका नेता भएको भन्दै भारतका लागि उपर्युक्त नभएको समाचारमा उल्लेख छ ।
‘नेपाल भारत विरूद्ध पाकिस्तान–चीनको खेमामा उभिन सक्ने खतरा रहेको छ’, भारतीय पूर्व विदेशसचिव कंवल सिब्बलको भनाइ उदृत गर्दै समाचारमा भनिएको छ।
त्यस्तै अब्बासीको भ्रमणले प्रधानमन्त्री ओलीको भारतसँग बार्गेनिङ पावर बढाउन सहयोग पुग्ने उल्लेख छ । त्यस्तै अर्को कारण भनेको पाकिस्तानले सार्क सम्मेलनका लागि नेपाललार्इ अगाडि बढाउन सक्ने उल्लेख छ । पाकिस्तानी प्रधानमन्त्रीको यो भ्रमण सार्क सम्मेलन गराउनका लागि ओलीको समर्थन खोज्न भएको समाचारमा उल्लेख छ ।
‘पाकिस्तानलार्इ सार्क सम्मेलन आयोजना गर्नु छ, उसले ओलीको समर्थन खोजिरहेको छ, यदी नेपालले यसमा आवाज उठायो भने पाकिस्तानलार्इ बल पुग्ने छ,’ सिब्बलले अगाडि भनेका छन्, ‘यसअघि सार्कमा चीनलार्इ प्रवेश गराउन पहल भएको थियो, यसअघिको सम्मेलनमा यसलार्इ पछाडि धकेल्न भारत सफल भयो, तर यदी नेपाल र पाकिस्तान चीनलार्इ सार्कमा स्वागत गर्न सहमत भए भने मालदिभ्स जस्ता देशहरू पनि यसको पक्षमा जाने छन्, त्यतिवेला भारतले चीनलार्इ रोक्न सक्छ की सक्दैन भन्ने प्रश्न आउन सक्छ ।’
भारतीय पत्रिका जागरणको अनलाइन संस्करणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको आशंकालाई सही साबित गरेको टिप्पणी गरिएको छ । ‘नेपालले नयाँ सरकार गठनपछि भारतीय प्रधानमन्त्रीभन्दा पहिला पाकिस्तानका प्रधानमन्त्री नेपालको भ्रमणमा गएका छन्,’ समाचारमा भनिएको छ, ‘भारतलाई चिन्ता पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणभन्दा पनि कहीँ कतै नेपाल चीन र पाकिस्तानको कूटनीतिक चालको हिस्सा बन्ने त होइन भन्ने चिन्ता हो ।’
भारत विरोधी छवि भएका ओलीलाई फकाउन भारतले अधिक प्रयास गर्दा पनि उनमा परिवर्तन नदेखिएको समाचारमा उल्लेख छ । ‘यसअघि प्रधानमन्त्री हुँदा भारतविरोधी रवैया बनाएका ओलीलाई यसपालि प्रधानमन्त्री हुँदा भारतले फकाउन धेरै प्रयास गरेको छ, तर पनि उनमा परिवर्तन देखिएको छैन,’ समाचारमा भनिएको छ, ‘पाकिस्तान र नेपालको बढ्दो सम्बन्धले भारतलाई दुईथरी चिन्तामा धकेलेको छ, पहिलो चीनको चालस्वरूप नेपालले भारतविरोधी रवैया प्रस्तुत गर्न सक्छ, दोस्रो पाकिस्तानले नेपाललाई आफ्नो एजेन्डामा सामेल गर्न सक्छ।’










