काठमाडौं । मध्यरातसम्म चलेको चर्काचर्कीकाबीच नेकपा एमालेले बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलबार साँझ बसेको एमाले स्थायी समितिको बैठकमा अष्टलक्ष्मी शाक्य, सुभाषचन्द्र नेम्वाङ र झलनाथ खनालको पक्षमा समेत व्यापक आवाज उठेपछि मध्येरातसम्म बैठक जारी रहेको थियो ।
अन्तमा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव र्इश्वर पोखरेल लगायतका ओलीपक्षीय नेताहरुको विशेष पहलमा भण्डारीलाई फेरि अर्काे कार्यकालको लागि राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बुधबार राष्ट्रपति निर्वाचनको लागि मनोनयनको कार्यतालिका रहेको छ । एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार आफ्नो भागमा परेको राष्ट्रपतिमा एमालेले निर्णय लिएसँगै भण्डारी आगामी पाँच वर्षका लागि पुनः राष्ट्रप्रमुखको भूमिकामा रहने निश्चित भएको छ । एमाले, माओवादी सरकारमा संघीय समाजवादी फोरमसमेत सहभागी हुने निर्णयपछि सत्तारूढ गठबन्धनको प्रतिनिधिसभामा दुईतिहाइ मत पुगेको छ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम रहेका छन् । ४ जनाले मतदान गर्न पाउने छैनन् ।
राष्ट्रपति निर्वाचनका लागी संघ र प्रदेशका सदस्यको मतभार फरक फरक हुने छ । संघीय संसद्मा कायम प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्यको मतभार एक सांसद बराबर ७९ र प्रदेश सभाका कुल ५ सय ५० सांसदको एक सांसद बराबर ४८ हुने छ ।हाम्राकुराबाट










