दमक/बर्तमान राष्ट्रपति बिद्यादेबी भण्डारी नै फेरी राष्ट्रपति बन्ने बाटो खुला भएको छ । एमालेले मध्यरातमा भण्डारीलाइ नै राष्ट्रपतिमा अघि सार्ने निर्णय गरेको बताइएको छ ।
को हुन् भण्डारी ?
विद्यादेवी भण्डारी (जन्म: २०१८ असार ५) नेपालको वर्तमान राष्ट्रपति तथा पहिलो महिला राष्ट्रपति हुन् । गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन् ।
यिनी स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन्। नेकपा एमालेमा रही सकृय राजनीति गर्ने यिनी नेपालको जनसंख्या तथा वातावरण र रक्षामन्त्री समेत भइसकेकी छिन्। उनलाई विश्व प्रसिद्ध पत्रीका फोर्ब्सले बर्ष २०१६का शक्तिशाली महिलाहरु मध्ये ५२औं स्थानमा सूचिकृत गरेको छ ।
विद्या भण्डारीको जन्म भोजपुर जिल्लामा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखमा भएको थियो। विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा सकृय विद्या २०३७ मा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन्। उनको २०३९ सालमा तत्कालिन नेकपा मालेका नेता मदन भण्डारीसित भूमिगत रूपमा विवाह भयो। पतिको २०५० साल जेठ ३ मा विवादास्पद जीप दुर्घटनामा मृत्यु भएपछि यिनी राजनीतिमा पुनः सकृय भइन्। मदन भण्डारीको निधनपछि रिक्त काठमाडौं क्षेत्र नं. १ मा २०५० सालमै भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि राजनीतिमा यिनको परिचय झन् व्यापक भयो।
भोजपुर क्याम्पसमा आइ.ए.अध्ययन को थालनिसगै वि.सं.२०३५ देखि नेकपा मालेको युवा लिगमा संगठित हुदै विद्याले राजनितिक जीवनको थालनी गरेकी हुन् ।
भण्डारी २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर काम गरेकी छन्। करिब २ दशकदेखि उनी पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष छिन्। २०६५ सालमा बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी हुन्।
उनी गणतन्त्र नेपालको दोश्रो राष्ट्रपति तथा नेपालकै पहिलो महिला राष्ट्रपति हुन्। भण्डारी २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिन्।










